प्रधानमन्त्री र गृहमन्त्रीद्वारा काठमाडौं प्रशासनको अनुगमन
चैत्र २, २०८२ | काठमाडौं
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सेवा प्रवाहस्थितिबारे प्रत्यक्ष अनुगमन गर्नुभएको छ । नागरिकले पाउने सरकारी सेवालाई चुस्त, दुरूस्त र प्रभावकारी बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयको आकस्मिक निरीक्षण गर्नुभएको हो ।
अनुगमनका क्रममा प्रधानमन्त्री कार्कीले त्यहाँ कार्यरत कर्मचारीहरुलाई छिटोछरितो र झन्झटरहित रूपमा सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । सोही अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रशासनको कामकारबाहीलाई थप पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सेवाग्राहीलाई दुःख दिने विचौलियाहरूको अन्त्य गर्न मन्त्रालयले शुन्य सहनशीलताको नीति अपनाएको र त्यस्ता गतिविधिमा संलग्न जो कोहीलाई कडा कारबाही गरिने चेतावनी दिनुभयो ।










