सेनाको अगुवाइमा विपद् जोखिम न्यूनीकरण हातेमालो अभ्यास सम्पन्न

फाल्गुन २१, २०८१ | काठमाडौं
नेपाली सेनाले विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापनका विषयमा सरोकारवासँग हातोमालो अभ्यास गरेको छ । नेपाली सेनाको अगुवाइमा राष्ट्रिय स्तरमा विपद् व्यवस्थापनसँग सरोकार राख्ने सम्पूर्ण निकायको सहभागितामा सञ्चालन भएको हातेमालो अभ्यासको सातौँ संस्करण मंगलबार सम्पन्न भएको छ ।
तीन दिनसम्म जङ्गी अड्डामा सञ्चालन भएको सो अभ्यासको दौरान विपद् पूर्व तयारी तथा विपद् प्रतिकार्यका दौरान अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था, संरचनागत सुधार, क्षमता विकास, तालिम, राहत तथा बन्दोबस्ती लगायत विविध पक्षमा छलफल गरिएको थियो ।
बलाधिकृत रथी निर्मल कुमार थापाले समापन गर्नु भएको कार्यक्रममा रथीवृन्द, विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधि, रेडक्रस लगायत गैरसरकारी निकायका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिको सहभागिता रहेको थियो ।
वार्षिक रुपमा सञ्चालन हुने यस प्रकारको अभ्यासले विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकायबीचको सहकार्यलाई प्रभावकारी बनाई समग्र राष्ट्रको विपद् पूर्व तयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धि गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सेनाले जनाएको छ ।