‘यमगज’ महिना दिनदेखि अलपत्र

फाल्गुन २९, २०८१ | रौतहट
रौतहटको चन्द्रनिगाहपुर चोकबाट करीब २ किलोमिटर उत्तर लागेपछि आदर्श सामुदायिक वनको नर्सरी आउँछ । सोही नर्सरी छेउमा पर्सा राष्ट्रिय निकुञ्जबाट डुल्दै आएको जंगली हात्ती ‘यमगज’ अलपत्र छ । ऊ राम्रोसँग हिँड्न सक्दैन । घाईते भएर ढलेको छ । यसरी शिथिल भएर बसेको ‘यमगज’को भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । यसरी ‘यमगज’लाई हेर्न हरिया मकैको घोगा बोकेर पुग्नेको भीड हुन्छ । त्यसपछि तस्बिर र भिडियो खिचेर फर्कन्छन् ।
यमगजको दाहिने खुटामा गम्भीर चोट लागेको छ । शिकारीको चलखेल हुने जंगलमा घाईते जंगली हात्ती बस्न थालेपछि स्थानीयले चिन्ता ब्यक्त गरेका छन् । २०७० चैतमा यही जंगलमा चितवन राष्ट्रिय निकुञ्जबाट डुल्दै आएको गैंडालाई गोली हानी घाईते बनाइएको थियो ।
घाईते गैंडा उपचारका क्रममा दुई महिनापछि बित्यो । त्यही घट्ना यमगजमाथि नहोस भनेर स्थानीय सचेत बन्दै पीर चिन्ता गरेका हुन् । उनीहरुले वन र नगरपालिकालाई उपचार र उद्धारका लागि भनिरहेका छन् । तत्कालै उपचार गरेर हात्तीलाई निकुञ्जमा लग्न दबाब दिईरहेका छन् । वडा नम्बर–३ का अध्यक्ष रवि देवकोटाले हात्तीको उपचारमा हेलचेक्रयाँई गर्न नहुने बताउनुभयो ।
यमगज खुट्टा खोल्च्याउँदै पानी पीउन चाँदी नदीमा पुग्छ । मानिसको आवागमन र होहल्लापछि बिस्तारै फेरि नर्सरीमै फर्कन्छ । खुट्टाको घाउका कारण प्राय ऊ एकै ठाउँमा बस्ने गरेको छ । रुखको हाँगामा सुँड अड्याउँछ ।
हात्तीको पीडादायी अवस्था देखेर स्थानीयको दबाबपछि डिभिजन वन कार्यायले हात्तीको उपचार तथा उद्धार गर्न भनी राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोष ललितपुरलाई फागुन १५ गते पत्र लेख्दै भन्यो, ‘उचित समयमा उपचार गर्न नसके हात्ती मर्ने खतरा छ ।’ यसअघि पनि वनले पत्राचार गरे पछि फागुन १ गते चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट आएको चिकित्सक टोलीले डार्ट गरेर यमगजको जंगलमै उपचार गरेको थियो । त्यसपछि पनि यमगजको घाउ निको भएको छैन् । सिकारीको गोली लागेर घाइते भएको अनुमान गरिएको छ । तर, यसको पुष्टि भने हुन सकेको छैन ।
हात्तीको दाहिने खुट्टामा गोली हानियो वा धारीलो भाला रोपियो, अझै शंकास्पद छ । खुट्टा सुनिन थालेपछि ‘यमगज’को गतिविधि शिथिल हुँदै गएको डिभिजन वन प्रमुख हेमन्त साहले बताउनुभयो । ‘हामीले तत्कालै हात्तीको उपचार हुन सकेन भने मर्ने खतरा छ भनेर सम्बन्धित निकायमा पत्र पठाईसकेका छौं,’ उहाँले भन्नुभयो, ‘टोली आउँदै छ । अब फेरि उपचार हुन्छ ।’
‘यमगज’ले घाईते हुनु अघि जुडिबेला गाउँमा ५ वटा घर भत्काईदिएको थियो । बालीमा समेत क्षति पुर्याउन थालेपछि स्थानीय आक्रोसित बनेका थिए । पछि घाईते अवस्थामा देखेपछि स्थानीयले डिभिजन वन र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई खबर गरेका थिए ।
वन कार्यालयको समन्वयमा राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक अमिर सडौला र वन्यजन्तु प्राविधिक तीर्थ लामा सहितको टोलीले घाईते ‘यमगज’लाई जुडिबेला–२ स्थित हिलेखोला जंगलमा डार्ट गरी उपचार गरेर छाडेको थियो । चिकित्सक सडौलाले यमगजको दाहिने खुट्टाको तल्लो भागमा गम्भीर चोट लागेको बताउनुभयो ।
चिकित्सकको टोलीले यमगजलाई डार्ट गरी एक घण्टा लगाएर उपचार गरेको थियो । ‘खुट्टाको घाउको भित्री भागसम्म पिप जमेकाले त्यसलाई सफा गरेर एन्टिबायोटिक दिएका छौ,’ सडौलाले भन्नुभयो, ‘घाउ ठीक हुन एक साता जति लाग्छ । त्यसपछि ऊ आफ्नो पुरानो बासस्थानमा फर्कन्छ ।’
चिकित्सक सडौलाका अनुसार यमगजलाई शिकारीले गोली हानेको हो वा भाला प्रहार गरेको भन्ने यसै भन्न नसकिने बताउनुभयो । ‘यसो हेर्दा गोली हानेको जस्तो देखिन्छ,’ उहाँले भन्नुभयो, ‘यसै भन्न सक्ने अवस्था छैन, तर घाउ निकै गहिरो छ । खुट्टा पनि सुनिँदै गएको छ ।’ उपचारपछि यमगजलाई चिकित्सकको टोलीले जंगलमै छाडेको छ । उसलाई तत्कालै उद्धार गर्न सक्ने अवस्था नरहेको र नेपालमा जंगली हात्तीको उद्धार गर्न सम्भव नभएको चिकित्सक सडौलाले सुनाउनुभयो ।
यमगजले एक वर्ष अघि मकवानपुर र बाराको कोल्बीमा स्थानीयमाथि आक्रमण गरेको थियो । मानिस देख्नै नहुने स्वभावको यमगज त्यस बेला चर्चामा आयो । उसलाई शान्त पार्न पर्सा निकुञ्जले धेरै प्रयास गर्यो। निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले यमगज तीन वर्षदेखि पर्सा निकुञ्जको जंगलम बस्दै आएको बताउनुभयो ।