प्रतिनिधिसभा सदस्य एवं राप्रपाका वरिष्ठ नेता दिपक बोहोराको निधन

चैत्र १९, २०८१
प्रतिनिधिसभा सदस्य एवं राप्रपाका वरिष्ठ नेता दिपक बोहोराको निधन भएको छ । पूर्वमन्त्री समेत रहेका ७४ वर्षीय बोहराको उपचारका क्रममा आज बिहान ओम अस्पताल निधन भएको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । २०७७ जेठमा कोरोना भाइरसबाट संक्रमित भएपछि बोहराको स्वास्थ्यमा समस्या देखिएको थियो ।
संक्रमणको केही समयपछि उहाँलाई पोस्ट–कोभिड लक्षण लेखिएको थियो । थप उपचारका लागि दिल्ली र न्युयोर्क पुगेका बोहरा पछिल्लो समय भने घरमै स्वास्थ्य लाभ लिँदै आउनुभएको थियो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बोहरा रुपन्देही–३ बाट विजयी हुनुभएको थियो । बोहोरा नेपालको राजनीतिमा झन्डै ४ दशकदेखि राप्रपामा क्रियाशील रहँदै आउनुभएको थियो ।
प्रतिनिधिसभा बैठकले बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उहाँको पार्थिव शरीरलाई गृहनगर भैरहवा लगेर आजै साँझ काठमाडौं ल्याएर पशुपति आर्यघाटमा भोलि अन्तिम संस्कार गरिने राप्रपाले जनाएको छ ।