एमालेले महानगरलाई बुझाएन फोहोरको जरिवाना

चैत्र १९, २०८१

सत्तारुढ दल एमालेले जागरणसभाका क्रममा काठमाडौंको दरबारमार्ग क्षेत्रमा गरेको फोहोरको एक लाख जरिवाना हालसम्म नबुझाएको काठमाडौं महानगरले जनाएको छ । एमालेले एक लाख रुपैयाँ जरिवाना ४ महिना बित्दा समेत नबुझाएको महानगरको भनाई छ । गत मंसिर ७ मा एमालेले दरबारमार्गमा जागरणभसा आयोजना गर्ने क्रममा सार्वजनिक स्थानमा फोहोर गरेको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । तर एमालेले अहिलेसम्म नतिरेको महानगरपालिका प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिनुभयो । अब आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ असुलउपर गर्ने निकायमा पत्राचार गर्ने तयारीमा रहेको शाहले बताउनुभयो । 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गत फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट परिसर, तिलगंगा, गौशालालगायत क्षेत्रमा फोहोर गरिएको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना गराएको थियो । लगत्तै राप्रपाले फागुन २६ मा सो जरिवाना तिरेको थियो । यस्तै, महानगरले गत चैत १५ मा भएको प्रदर्शनका क्रममा सडकपेटीमा फोहोर तथा सार्वजनिक सम्पत्तिमाथि नोक्सानी भएको भन्दै महानगरले पूर्वराजा शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । यद्यपी, निर्मल निवासले पत्र बुझ्न नमानेपछि महानगरले चैत १७ गते हुलाकमार्फत पत्र पठाएको थियो । निर्मल निवासले हालसम्म कुनै प्रतिक्रिया नजनाएको महानगर प्रमुखका सचिव शाहले बताउनुभयो । 


प्रतिक्रिया