निलम्बित सांसद पद फुकुवाका लागि सभामुख घिमिरेलाई रास्वपा सभापति लामिछानेको आग्रह

चैत्र १९, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफ्नो निलम्बित सांसद पद फुकुवा गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आग्रह गर्नुभएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पुरक अभियोगपत्र दर्ता भएसँगै गत पुस ८ गते लामिछानेको पदबाट निलम्बन भएको थियो । पार्टीको नियमित काममा फर्किएको भोलिपल्ट सभापति लामिछानेले सभामुख घिमिरेलाई भेटेर आफ्नो निलम्वन हटाउन आग्रह गर्नुभएको हो ।
सभामुखको सचिवालयका एक सदस्यका अनुसार लामिछानेले गरेको आग्रहमा सभामुख घिमिरेले सो बिषयमा आफूले कानुनी परामर्श गरिरहेको जानकारी गराएको थियो । कास्की जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालयले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको पूरक अभियोगपत्र दर्ता भएको स्मरण गराउँदै सभामुख घिमिरेले निलम्वन हटाउन नमिल्ने धारणा राखेको बुझिएको छ । रास्वपा सभापति लामिछाने काठमाडौ, कास्की, रुपन्देही र चितवन जिल्लामा दर्ता भएका मुद्दाहरूमा धरौटी राखेर विभिन्न मितिमा रिहा हुनुभएको थियो । तर पर्साको सहकारी ठगीबारे परेको उजुरी अनुसन्धानका क्रममा रहेको बताइन्छ । यसैबीच, संसद सचिवालय परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले पर्सा जिल्लामा अनुसन्धानमा गरिएको ढिलाइप्रति असन्तुष्टी जनाउनुभएको छ ।
गत कात्तिकमा सहकारी ठगी लगायत आरोपमा पक्राउ परेका लामिछाने धरौटी बुझाएर रिहा भएको केही समयपछि पार्टीको काममा फर्किनुभएको हो । एउटा व्यक्तिको पछाडी राज्य लागेको टिप्पणी उहाँले गर्नुभयो ।
संसदको चौथो ठूलो दल रास्वपाका सभापति लामिछाने पार्टीका संसदीय दलको नेता समेत हुनुहुन्छ ।