परराष्ट्रमन्त्री राणा थाइल्याण्डमा

वैशाख ७, २०८२

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा थाइल्याण्ड जानुभएको छ । संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगको ८१ औँ सत्रमा सहभागी हुन परराष्ट्रमन्त्री राणा बैंकक जानुभएको हो । नेपाल अहिले सो आयोगको अध्यक्ष रहेकाले मन्त्री राणाले ८१ औँ सत्रको अध्यक्षता गर्ने कार्यतालिका छ । सो सत्रलाई मन्त्री राणाले नेपालका तर्फबाट सम्बोधन गर्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । एशिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग यसपालीको मुख्य एजेण्डा छ । 

सो सत्रको विषयवस्तु एशिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ । सो सत्रमा मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री राणा अप्रिल २५ मा स्वदेश फर्कने कार्यतालिका छ । मन्त्री राणासँगै कांग्रेस सभापति शेरवहादुर देउवा पनि स्वास्थ्य परीक्षणका लागि बैंकक जानुभएको छ । नियमित परीक्षणका लागि देउवा परिवारका सदस्यहित थाइल्याण्ड जानुभएको उहाँको सचिवालयले जनाएको छ । 


प्रतिक्रिया