दानव नदीमा बेपत्ता भएका २ बालकको शव भेटियो

वैशाख ९, २०८२ | तिलोत्तमा

रुपन्देहीको दानव नदीमा बेपत्ता भएका दुई जना बालकको शव फेला परेको छ । मंगलबार बिहान सशस्त्र प्रहरी बलको गोताखोर टोलीले दुई बालकको शव फेला पारेको हो । 

सोमबार लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मध्ये १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरीजनको शव फेला परेको हो । 

उनीहरुको खोजीको लागि राति नै सशस्त्र प्रहरी बल नेपाल नम्बर–४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो । 

टोलीले बेपत्ता भएकै स्थान भन्दा २० मिटर टाढा दुई बालकको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । 

बेपत्ता मध्ये १४ वर्षीय राज यादवको शव भने सोमबार साँझ फेला परेको थियो । बगहा बाबा मन्दिर नजिकै नुहाउने क्रममा तीनै जना नदीको गहिरो भागमा पुगेका थिए ।


प्रतिक्रिया