राउटे समुदायको जनसंख्या घट्दो क्रममा

वैशाख २८, २०८२ | काठमाडौं
राउटे समुदायको जनसंख्या घट्न थालेको छ । उच्च मृत्युदरका कारण सो समुदायको जनसंख्या निरन्तर घट्न थालेको हो ।
सन् २०१८ यता राउटे समुदायका ४६ जनाको मृत्यु भएको छ । विगत सात वर्षमा २८ पुरुष र १८ महिलाको मृत्यु भएको छ । तीमध्ये २२ जना पाँच वर्ष मुनिका बालबालिका रहेका छन् । पछिल्लो एक वर्षमा मात्रै ७ जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेशको खोला तथा जंगल क्षेत्रमा बसोबास गर्ने राउटेहरुको संख्या अहिले १ सय ३७ जनामा सिमीत भएको छ । उपचार र पोषणयुक्त खानपानको अभावका कारण धेरै जसो राउटेहरुको मृत्यु हुने गरेको सोसीयल सर्भिस सेन्टर नेपाल सोसेकले जनाएको छ ।
राउटे समुदायले निमोनिया जस्ता गम्भीर रोगहरूको अवस्थामा पनि औषधि प्रयोग गर्न मान्दैनन् । यस्तै पाँच वर्ष मुनिका बालबालिकाहरूलाई समेत उपचार गर्न अनुमति नदिने उनीहरुको संस्कारका कारण मृत्यु हुने दर बढेको हो ।