आज २५६९ औँ बुद्ध जयन्ती मनाइँदै

वैशाख २९, २०८२ | काठमाडौं

शान्तिका अग्रदूतका रुपमा विश्वभर परिचित सिद्धार्थ गौतमप्रति आस्था प्रकट गरी आज २५६९ औँ जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भगवान बुद्धप्रति आस्था प्रकट गरी बुद्ध जयन्ती मनाइन्छ । 

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन परेकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण रुपमा लिने गर्दछन् । 

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ जस्ता अनेकौँ कालजयी सन्देशका वाहक गौतम बुद्धको २५६९ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । 

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देहीको लुम्बिनी उद्यानमा पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । 

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाएका थिए । 

३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिएका थिए । बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गर्नुभएको मुख्य कुरा चार आर्य सत्य रहेका छन् । यसलाई बुद्धले दिएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ ।

यसैबीच, बुद्व जयन्तीमा सहभागी हुन विभिन्न मुलुकबाट धर्मगुरुका साथै उच्चपदस्थ लुम्बिनी आएका छन् । बुद्व जयन्तीका अवसरमा लुम्बिनीमा रहेका बिहार परिसर पनि सिंगारिएको छ । लुम्बिनी विकास कोषले बुद्धको जीवनीसँग सम्बन्धित लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहमा तीन दिनसम्म बुद्धजयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको जनाएको छ । 

बुद्व जयन्तीका अवसरमा लुम्बिनीमा रहेका बिहार परिसर पनि सिंगारिएको छ । लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति र्‍यालीको आयोजना गरिएको छ । बुद्व जयन्ती मूल समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया