पुनरागमन जितसँगै बार्सिलोना उपाधि नजिक

वैशाख २९, २०८२ | काठमाडौं

बार्सिलोनाले स्पेनी ला लिगा फुटबलमा रियल म्याड्रिडविरुद्ध उत्कृष्ट पुनरागमन जित निकालेको छ । स्टाडियो ओलम्पिको स्टेडियममा भएको पछिल्लो खेलमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिडलाई ४–३ गोलले पराजित गरेको हो । 

‘एल क्लासिको’मा प्राप्त यस जितसँगै बार्सिलोना उपाधितर्फ उन्मुख भएको छ । अब बार्सिलोनालाई लिग उपाधि जित्न एक जित पर्याप्त रहनेछ । म्याड्रिडका लागि केलियन एमबापेले सानदार ह्याट्रिक गरेपनि टिमलाई हारबाट जोगाउन सकेन ।

खेल सुरु भएको १४ मिनेटभित्र एमबाप्पेले दुई गोल गरेपछि रियल म्याड्रिडले २–० को अग्रता लिएको थियो । त्यसपछि खेलमा बार्सिलोना लयमा फर्किएको थियो । पहिलो हाफमै बार्सिलोनाले चार गोल गर्‍यो ।

एरिक गार्सिया र लामिन यमलले एक–एक तथा राफिन्हाले दुई गोल गरेका थिए । म्याड्रिडका लागि एमबापेले खेलको ७० औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । यो जितसँगै बार्सिलोना ३५ खेलबाट ८२ अंकका साथ शीर्षमा स्थानमा रहेको छ । 

बार्सिलोनाले रियल म्याड्रिडसँग सात अंकको दूरी बनाएको छ । रियल म्याड्रिड ७५ अंकसहित दोस्रोमा रहेको छ । 

त्यस अगाडि शनिबारको खेलमा एट्लेटिको म्याड्रिडले रियल सोसिडाडलाई ४–० ले हराएको थियो । यो नतिजासँगै उसले तेस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको थियो । 

एट्लेटिकोको ३५ खेलबाट ७० अंक भएको छ । सोसिडाड भने ४३ अंकमा १२ औं स्थानमा रहेको छ । खेलको चारै गोल एलेक्जान्डर सोरलोथका नाममा रह्यो ।


प्रतिक्रिया