नेपाल यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा

वैशाख २९, २०८२ | काठमाडौं
नेपाल यू–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको अरुणाञ्चलस्थित गोल्डेन जुबिली रंगशालामा गएराति भएको खेलमा नेपालले श्रीलंकालाई ५–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
नेपालको जितमा सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लक्षु थापाले समान १–१ गोल गरे । सुजनले पहिलो हाफको अतिरिक्त समयको चौंथो मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
धमेन्द्रले ६१ औं मिनेटमा दोस्रो गोल थपे । सुवासले ७७ औं मिनेटमा नेपालका लागि तेस्रो गोल गरे । विज्ञानले ९० औं मिनेटमा चौंथो गोल गर्दा लक्षुले दोस्रो हाफको अतिरिक्त समयको चौथो मिनेटमा अर्को गोल थप्दै नेपाललाई फराकिलो जित दिलाए ।
नेपालसँगै समूह ‘बी’बाट भारत पनि अन्तिम चारमा पुगेको छ । अब समूहको शीर्ष स्थानका लागि नेपाल र भारतबीच मंगलबार प्रतिस्पर्धा हुनेछ । दुवै टिम समान तीन–तीन अंक रहेको छ ।
श्रीलंका भने लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । यसै समूहको पहिलो खेलमा भारतले श्रीलंकामाथि ८–० को ठूलो अन्तरको जित निकालेको थियो ।
यस्तै, समूह ‘ए’बाट बंगलादेश सेमिफाइनल पुगेको छ । बंगलादेशले हिजोको खेलमा भुटानलाई ३–० गोलले पराजित गरेको थियो । जितसँगै बंगलादेशको दुई खेलबाट चार अंक भएको छ ।
बंगलादेशले आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग २–२ को बराबरी खेलेको थियो । अब यो समूहको लिग चरणको अन्तिम लिग खेलमा माल्दिभ्स र भुटान भिड्ने छन् ।