वडाध्यक्षले प्रशासकीय अधिकृत थुनेपछि नगरपालिकाका कर्मचारी आन्दोलित

असार ८, २०८२
गुल्मीको मुसिकोट नगरपालिकामा जनप्रतिनिधीले अभद्र व्यवहार गरेपछि नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् । भुक्तानीको विषयमा विवाद हुँदा चार जना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीलाई थुनेर अभद्र व्यवहार गरेपछि कर्मचारीहरु आन्दोलित भएका हुन् । गत शुक्रबार नगरसभा चलिरहेको बेला वडा नं. २ का वडाध्यक्ष रविन्द्र केसीले दशैंमा सडक सफा गर्न खर्च गरेको रकम भुक्तानी नभएको भन्दै विवाद भएको थियो ।
विवादपछि केसी सहित वडा नं. १ का वडाध्यक्ष आनन्द श्रेष्ठ, ८ का रमेश विक र ९ का भुमा गुरुङ्गले प्रमुख प्रशासकीय अधिकृत गिरीलाई अभद्र व्यवहार गरेको कर्मचारीको आरोप छ । प्रमुख प्रशासकीय अधिकृत गिरीका अनुसार वडा नं. २ का वडाध्यक्ष केसीले नगरको कुनै निर्णय बिना आफैंले सडक सफा गर्न डोजर प्रयोग गरेकाले सो रकम भुक्तानीका लागि माग गर्नु भएको थियो । कार्यपालिकाकै छलफलबाट प्राविधिक मूल्यांकन अनुसारको भुक्तानी दिने भन्ने निर्णय भएपनि मूल्यांकन भन्दा कम भएपछि विवाद भएको हो ।