प्रधानमन्त्री ओलीद्वारा थप आयोजना उद्घाटन

श्रावण १३, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले रानीजमरा कुलरिया सिँचाइ आयोजनाको सिँचाइतर्फको थप सिँचाइ, जलविद्युत् र प्रसारण लाइन उद्घाटन गर्नु भएको छ । प्रधानमन्त्री ओलीले आज थप १४ हजार ३ सय हेक्टरमा सिँचाइ सुविधाको सिँचाइ आयोजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गर्नु भएको हो । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ कटासेस्थित सिँचाइ नहरमा विद्युत् उत्पादन भएर ३३ केभी प्रसारण लाइनमा जोडिएको छ ।
राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम सुरु भएका छन् । आयोजनाले विगतमा टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा दिँदै आएकामा तेस्रो चरणमा भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायतका पालिकामा सिँचाइ विस्तार र कृषि उत्पादन वृद्धि गर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओलीले सो आयोजनालाई नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भन्दै यसले नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षाको चित्रण गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका सिँचाइ आयोजना–सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई र सुनकोशी–मरिन बहुद्देश्यीय आयोजना यथाशीघ्र सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभयो ।