बाढी पहिरोका कारण विभिन्न जिल्लामा जनधनको क्षति

असार २५, २०८२

बाढी पहिरोका कारण विभिन्न जिल्लामा जनधनको क्षति भएको विवरण प्राप्त भएका छन् । त्यस्तै, बाढीले सडक र पुलमा क्षति पु¥याएको छ । म्याग्दीको मालिका गाउँपालिका–३, रुमको लुक्सीपार भन्ने स्थानमा पहिरो जाँदा बाबुछोरा पुरिएका छन् । दाउरा खोज्न गाउँनजिकैको जंगलमा गएका बेला माथिबाट खसेको पहिरोले पुरिँदा स्थानीय ३५ वर्षीय बाबु जकेन्द्र विकको शव फेला परेको छ । पहिरोमा पुरिएका उनका १२ वर्षीय छोरा सरोज विक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

नारायणी नदीमा आएको भेलले बगाँउदा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका १३ वर्षीय कृष्ण मल्लाह बेपत्ता भएको प्रहरीले जनाएको छ । कैलालीको गोदावरी नगरपालिकास्थित गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा उनीहरुलाई उद्धार गरिएको हो । नदीमा श्राद्ध गर्न गएका उनीहरु वर्षातको कारण एक्कासि बाढी आएपछि बीच भागमा फसेका थिए ।

उपल्लो मुस्ताङमा वर्षाका कारण उर्लिएको बाढीले ६ वटा पुलमा क्षति पु¥याएको छ । बाढीले लोमान्थाङ–४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ–२ साम्जुङस्थित निर्माणाधीन सहित दुई वटा पक्की मोटरेबल पुलमा क्षति पु¥याएको हो । बाढीले सो क्षेत्रमा रहेको फलामे पुल र तीन वटा काठेपुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । लेदोसहितको बाढी बढेपछि जोखिममा रहेको खोलाको बीचमा रहेको एक होटल र लोमन्थाङ–४ स्थित न्याम्डो गाउँका दुई वटा घरका नागरिलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । यसैबीच, जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोसी नदी तथा त्यसका सहायक खोलामा बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । प्रशासनले आज दिउँसो तामाकोसी र त्यसका आसपासका खोलामा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । तिब्बतसहित दोलखाको माथिल्लो क्षेत्रमा अधिक र मध्यम बर्षाका कारण बाढी र पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी सूचनामा भनिएको छ । 


प्रतिक्रिया