वीपी प्रतिष्ठानको फार्मेसीमा कार्यरत कर्मचारी आन्दोलित

श्रावण २०, २०८२ | काठमाडौं
लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै सनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको फार्मेसीमा कार्यरत कर्मचारी विरोधमा उत्रिएका छन् ।
सात महिनादेखि तलब नपाएको विरोधमा उनीहरुले फार्मेसी सेवा ठप्प पारेका छन् ।
उनीहरुको विरोधका कारण दुई दिनयता प्रतिष्ठानको फार्मेसी बन्द हुँदा बिरामी मर्कामा परेका छन् ।
विगत ७ महिनादेखि पाउनुपर्ने तलब र सेवा सुविधा नपाएको भन्दै फार्मेसीमा कार्यरत १८ जना फर्मासिष्ट र ४ जना सहयोगी सहित २२ जना कर्मचारी धर्नामा छन् ।
चौबिसै घण्टा सेवा उपलब्ध हुनुपर्ने फार्मेसीबाट सेवा नपाउँदा सेवाग्राहीले निजी मेडिकलबाट महँगोमा औषधि किन्न बाध्य भएका छन् ।
प्रतिष्ठानको फार्मेसीमा औषधि ब्यवस्थापनको जिम्मा केटीएम सेक्युरिटी सर्भिसेज प्रालिले गर्दै आएको छ । त्यहाँ कार्यरत कर्मचारीहरु केटीएम सेक्युरिटी मार्फत भर्ना भएका हुन् ।
यसैबीच प्रतिष्ठानले औषधि आपूर्ति कम्पनी केटीएम सेक्युरिटी सर्भिसेज प्रालिले गैरकानूनी कार्य गरेको जनाएको छ ।
संवेदनशील क्षेत्रको सेवा बन्द गर्नु कानूनको उल्लङ्घन भएको प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित कुमारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।