भदौ १३ गते एमालेको केन्द्रीय कमिटी बैठक बस्ने

भाद्र ५, २०८२ | काठमाडौं
पार्टीको विधान महाधिवेशनमा जुटेको नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
आगामी भदौ १३ गतेका लागि बैठक बोलाइएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ । बैठकमा विधान महाधिवेशनमा पेस गर्ने विधान संशोधन प्रस्ताव प्रतिवेदनबारे छलफल गर्ने एमालेको तयारी छ ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन पेस गरेपछि सदस्यहरुले छलफल गर्ने छन् । एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई यही भदौ १० गतेसम्मको समयसीमा दिएको छ । विधान संशोधनसम्बन्धी सुझावलाई समेटेर प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरिने र सो छलफलपछि पारित गरिने छ ।
विधान महाधिवेशनमा दुई हजार १२८ जना र थप २६४ जना आयोजक गरी दुई हजार ३९२ जनाको सहभागिता रहने एमालेले जनाएको छ । एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सन्राइज हलमा आगामी भदौ २० देखि २२ सम्म हुनेछ ।