एमालेले सदस्यता नदिएपनि सक्रिय हुन्छुः पूर्वराष्ट्रपति भण्डारी

रेडियो कान्तिपुर संवाददाता

भाद्र ५, २०८२ | काठमाडौं


पार्टी सदस्यतालाई एमालेले अस्वीकार गरेपनि पूर्व राष्ट्रपति विद्या भण्डारीले राजनीतिक गतिविधि अघि बढाउने क्रममा काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । काठमाडौंको थापागाउँस्थित एक भाडाको घरबाट सम्पर्क कार्यालय सञ्चालन गर्दै भण्डारीले आफू एमालेमा क्रियाशील रहने समेत बताउनुभएको छ । मदन भण्डारीको ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय भनिएपनि सोही घरबाट भण्डारीले आगामी राजनीतिक गतिविधि सञ्चालन गर्ने बताइएको छ । 

एमालेका पदाधिकारी तहका नेता समेतको सहभागितामा कार्यालय उद्घाटन गर्दै उहाँले पार्टी सदस्यता एमालेले अस्वीकार गरेपनि आफू सक्रिय रहने बताउनुभयो । एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको नीति अनुसार आफू अघि बढ्ने उहाँको भनाइ थियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि एमाले पटक पटक सरकारमा सहभागी भएकाले पार्टीको भूमिकाबारे समिक्षा गर्नुपर्ने पूर्वराष्ट्रपति भण्डारीले बताउनुभयो । 

कार्यक्रममा सहभागी एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एमाले अध्यक्ष केपी ओलीको सक्रियताबाट मदन भण्डारी फाउन्डेसन अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सो फाउन्डेसनको गतिविधिलाई लिएर आशंका व्यक्त गर्नुभएको थियो । भण्डारीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे पनि सहभागी हुनुभएको थियो । 


प्रतिक्रिया