धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिए

आश्विन ७, २०८२ | काठमाडौं

सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् ।

विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ ।

पर्यटन विभागका अनुसार धवलागिरि आरोहणको अनुमति लिएकाबाट ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ ।

शरदयाममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले प्रतिआरोही ९ सय डलर सलामी दस्तुर तिर्नुपर्छ ।

अन्य साना हिमालका लागि न्यूनतम १ सय २५ देखि अधिकतम ४ सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ ।

विभागले पछिल्लोपटक सार्वजनिक गरेको तथ्यांकअनुसार गोरखामा रहेको (आठ हजार १६३ मिटर अग्लो) मनास्लु हिमाल आरोहणका लागि तीन सय ७४ जनाले अनुमति लिएका छन् ।

शरदयामका आरोहीहरूको रोजाइमा मनास्लु हिमाल पर्ने गरेको छ । आरोहण अनुमति लिनेको संख्यामा धवलागिरि दोस्रो स्थानमा छ । 


प्रतिक्रिया