तुइनखोलाको पहिरो सफा गर्न धेरै उपकरण प्रयोग गर्न गाह्रो

आश्विन ९, २०८२ | काठमाडौं

चितवनस्थित नारायणगढ मुग्लिन सडकको मुग्लिन नजिक तुइनखोलामा खसेको पहिरो सफा गर्न भरतपुरको डिभिजन सडक कार्यालयले आज बिहानैदेखि काम सुरु गरेको छ ।

कार्यालयले पाँचवटा मेशिन प्रयोग गरेर काम सुरु गरेको हो । पहिरो खसेपछि अस्ति मंगलबार दिउँसो पाँच बजेदेखि र्नै सो सडक ठप्प छ ।

हिजो साँझपख पानी परेपछि राती अबेरसम्म काम गर्न नसकेका कारण आज पनि बाटो खुल्ने सम्भावना कम रहेको हाम्रा चितवन सहकर्मी रमेशकुमार पौडेलले जनाएका छन् ।

पहिरो गएको ठाउँ साँधुरो भएका कारण धेरै मेशिनहरू उपयोग गर्न सकिएको छैन । राजधानी काठमाडौंलाई देशको पुर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य सडक नारायणगढ मुग्लिन सडकको तुइनखोलामा गत शुक्ररबारदेखि नै पहिरोले दुख दिएको हो ।

अहिले सडकमा बस र यात्रु त खासै छैनन् तर सामान बोकेका ट्रकहरूको ठूलो जाम लागेको छ ।

यसैबीच, हिजो साँझ पहिरो झरेर अवरुद्ध बनेको पृथ्वी राजमार्गको धादिङ खण्ड भने आज बिहान ३ बजेदेखि सञ्चालनमा आएको छ ।

पहिरो पन्छाइएको भए पनि सो स्थानमा पहिरोको जोखिम भने कायमै रहेको हाम्रा सहकर्मी पोषनाथ अधिकारीले जनाएका छन् ।

यता हिजो साँझ परेको भारी वर्षा पछि पहिरो झर्दा अवरुद्ध बनेको धार्के सितापाइला सडक पनि बिहान ८ बजे देखि सञ्चालनमा आएको छ ।

काठमाडौ प्रवेश गर्ने बैकल्पिक सडकको रुपमा प्रयोग भैरहेको धार्के सितापाइला सडकको ठूलो खोला नजिक बेलुकी ८ बजे पहिरो झरेर अवरुद्ध थियो ।

लगातार ठाउँ ठाउँमा पहिरो झरीरहेकोले सडक प्रयोगकर्तालाई धादिङ ट्राफिक प्रहरीले सूचना लिएर सावधानी पुर्वक यात्रा गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया