उपलव्ध स्रोतसाधनबाट पुर्ननिर्माण अघि बढाउने अर्थमन्त्रीको भनाइ

आश्विन ९, २०८२ | काठमाडौं
अर्थमन्त्री रामेश्वर खनालले प्रहरी कार्यालय र अदालतका संरचना निर्माण गर्दै आन्दोलनपछिको पुर्ननिर्माण अघि बढाइने बताउनुभएको छ । उपलव्ध स्रोतसाधनबाट काम अघि बढाइने उहाँको भनाइ छ । आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खनालले सो जानकारी दिनुभयो ।
आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीबाट क्षतिग्रस्त संरचना निर्माण गर्न सरकारले भौतिक पूर्वाधार पुर्ननिर्माण कोष खडा गरिसकेको छ । विश्वभर रहेका नेपालीले सहयोग गर्ने चाहना व्यक्त भएकाले कोष बनाइएको अर्थमन्त्री खनालको भनाइ छ ।
सरकारले निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट योगदान गरी पुनर्निर्माणको अभियानमा सहभागी हुन अपिल गरेको छ ।