मधेशको मुख्यमन्त्री नियुक्ति विरुद्ध सर्वोच्चमा रिट दर्ता

कार्तिक २४, २०८२ | काठमाडौं

मुख्यमन्त्री नियुक्तिसँगै मधेस प्रदेशको राजनीति तरङ्गित भएको छ ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमालेका नेता सरोजकुमार यादवलाई होटलमा लगेर मुख्यमन्त्रीमा नियुक्त गरेपछि एमाले बाहेकका दलहरु असन्तुष्ट बनेका हुन् । यस्तै, मुख्यमन्त्री नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । रक्कीप्रसाद साह र सुजित यादवले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाई रिट दर्ता गराउनुभएको हो । रिटमाथि छलफलको लागि सर्वोच्चले भोलि पेशी तोकेको छ ।

संविधानको धारा १६८ को उपधारा (२) हुँदाहुँदै संविधान उल्लंघन भएको हुनाले रिट दिएको निवेदक साहले जानकारी दिनुभयो । उहाँका अनुसार जीवित रहेको धारा टेकेर नै नयाँ सरकार गठनको लागि आह्वान हुनुपर्ने रिट निवेदन पत्रमा जिकिर गर्नुभएको छ ।

सो रिट निवेदनको अन्तिम किनारा नलागेसम्म यथास्थितमा राख्ने आदेशको पनि माग गरिएको छ । तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नमाग्दै राजीनामा दिएपछि कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत, जसपा र नागरिक उन्मुक्ति पार्टीले संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेका थिए ।

यद्यपि,प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले आज बिहानै संविधानको धारा १ सय ६८ (३) बमोजिम प्रदेशसभाको पहिलो दलको नेताका रुपमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि दलहरु विरोधमा उत्रिएका हुन् । 


प्रतिक्रिया