देशभर एमालेद्वारा जागरण जनसभाको अयोजना
कार्तिक २९, २०८२ | काठमाडौं
नेकपा एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शनसहित जागरण जनसभा गरेको छ ।
जनपरिचालन गर्ने उद्देश्यले एमालेले देशभर एकसाथ सभा गरेको हो । एमालेले सभाका लागि सबै केन्द्रिय नेताहरुलाई जिल्ला खटाएको छ । प्रतिनिधिसभा पुनःस्थापना र जेनजी आन्दोलनका क्रममा भएको तोडफोडमा संलग्नहरूलाई कारबाहीको माग गर्दै एमालेले देशभर आज प्रदर्शन गरेको हो । चितवन, नेपालगञ्ज, धनकुटा, गुल्मी,लमजुङ लगायतका जिल्लामा गरेको सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् ।
यसअघि वडा र पालिकामा भेला गरेको एमालेले आजको सभामा उपाध्यक्ष रामबहादुर थापा, महासचिव शंकर पोख्रेलले नेपालगञ्ज, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, केन्द्रीय सचिव गोकर्णराज विष्ट, महिला नेतृ रामकुमारी झाँक्रीलगायतका नेताहरुले गुल्मीको तम्घासको सभालाई सम्वोधन गर्नु भएको छ । यस्तै अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङको सभाले सम्बोधन गर्नुभएको छ । त्यस्तै, नेताहरुले अन्य जिल्लामा कार्यक्रम गरेका छन् ।
सो क्रममा चितवन पुग्नुभएका एमाले उपाध्यक्ष रामबहादुर थापाले माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलले गरेको पार्टी एकीकरणलाई १० कोठे टहरो बनाएको टिप्पणी गर्नुभएको छ । नेता थापाले एमाले मूलघर भएका कारण सबैलाई फर्कन अपिल समेत गर्नुभयो ।
उहाँले निर्वाचन नभएर संसद् पुनस्र्थापनामा एमालेले जोड दिएको बताउनुभयो । त्यस्तै, एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले राजनीतिक दलसँग बढाएको दूरीका कारण चुनाव हुनेमा विश्वास नरहेको बताउनुभयो । गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै शनिबार उहाँले यस्तो बताउनुभएको हो । यस्तै, लमजुङमा बोल्दै एमालेका उपमहासचिव एवम् पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद पुनःस्थापना नभएसम्म आगामी निर्वाचन असम्भव भएको बताउनुभयो ।
उहाँले वर्तमान सरकारले चुनावका लागि आवश्यक वातावरण निर्माण गर्न पूर्णतः असफल भएको आरोप समेत लगाउनुभयो । गुरुङले जेनजी आन्दोलनलाई मोहरा बनाएर कम्युनिस्ट, गणतन्त्रवादी र लोकतान्त्रिक शक्तिमाथि योजनाबद्ध आक्रमण गरिएको दाबी गर्नुभयो । जेनजी आन्दोलनका मूल माग सुशासन र भ्रष्टाचार अन्त्यका लागि भए पनि पछिल्ला घटनामा निजी, सार्वजनिक तथा राष्ट्रिय संरचनामा गरिएको तोडफोड देशका लागि नभएको उल्लेख गर्नुभयो ।








