चितवनमा रास्वपाको जितलाई रोक्न अन्य दललाई चुनौती
माघ २२, २०८२ | काठमाडौं
आगामी फागनु २१ गते हुने निर्वाचनको केन्द्रमा रहेको चितवनमा यस पटक ४ लाख ४२ हजार ८२ जना मतदाता कायम भएका छन् । तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा यसपटकको निर्वाचनका लागि ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विगतमा आफूले गरेका कामलाई देखाउँदै उम्मेदवारी दिएका अधिकांश नेताहरु प्रचारप्रसारमा सक्रिय भएका छन् ।
चितवन १
चितवनको पूर्वी भेगलाई समेट्ने निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक पनि विगतमा जस्तै, एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा लगायत प्रमुख दलबीच प्रतिस्पर्धा हुँदैछ । २०७९ को निर्वाचनमा रास्वपाका हरि ढकालले जितेको यो क्षेत्रमा एमालेका दावा दोर्जे लामा, कांग्रेसबाट राजेन्द्र प्रसाद बुर्लाकोटी, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट कृष्णराज पन्त र राप्रपाका बलराम शर्मा खनालसहितका उम्मेदवार प्रतिस्पर्धामा छन् । अघिल्लो पटक एमालेका सुरेन्द्र प्रसाद पाण्डेलाई पराजित गर्दै संसद् प्रवेश गरेका ढकाल फेरि सांसद बन्ने रणनीतिसहित मैदानमा उत्रिएका छन् । उनको जितलाई रोक्न अन्य दलहरुले प्रयास गरिरहेको देखिन्छ ।
चितवन २
राजनीतिक रुपमा चितवनको चर्चामा रहने क्षेत्रका रुपमा चितवन २ लाई हेरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारीका कारण सो क्षेत्रको नतिजालाई चासोपूर्वक लिइएको छ । २०७९ को निर्वाचनमा कांग्रेसका उमेश श्रेष्ठ र २०८० को उपनिर्वाचनमा कांग्रेसका जितनारायण श्रेष्ठलाई भारी मत अन्तरले पराजित गरेका लामिछाने जितलाई निरन्तरता दिने योजनामा छन् । यो क्षेत्रमा एमालेका युवा उम्मेदवार अस्मिन घिमिरे, कांग्रेसकी मिना खरेल, नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङ र राप्रपाका जगदिश्वर अधिकारी लगायत उम्मेदवार भएका छन् । कतिपयको बुझाइमा लामिछानेको जितलाई रोक्न अन्य उम्मेदवारलाई त्यति सहज देखिदैन । यस्तो परिस्थितिमा कांग्रेसकी उम्मेदवार खरेलले नतिजा आफ्नो पक्षमा आउने दावी गरेकी छन् ।
२०७९ को निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्रसहितका दलले गठबन्धन गरेपनि लामिछानेले सहजै जित हात पारेका थिए । सहकारी ठगी लगायत मुद्दाका कारण अनेकौं झमेला सामना गरेका लामिछाने अघिल्लो पटकको तुलनामा अझै प्रचारमा जुटिसकेका छैनन् । रास्वपाले देशव्यापी रुपमा आफ्नो माहोल बनाएको दावीबीच चितवनको यस क्षेत्रमा अन्य दलका उम्मेदवारले राष्ट्रिय र स्थानीय मुद्दालाई चुनाव जित्ने आधार मानेका छन् ।
चितवन ३
चितवनको पश्चिमी तथा दक्षिणी भेग समेटिएको निर्वाचन क्षेत्र नम्बर ३ पनि यसपटक सर्वाधिक चर्चामा छ । यो क्षेत्रमा २ परिचित महिला अनुहारबीच हुन लागेको प्रतिस्पर्धाले चुनाव रोचक हुने ठानिएको छ । नेपाली कम्युनिष्ट पार्टीबाट भरतपुर महानगरपालिकामा २ पटक नेतृत्व गरिसकेकी रेणु दाहाल र रास्वपाकी सोबिता गौतमको उम्मेदवारीले बढी चर्चा पाएका छन् । यो क्षेत्रमा एमालेका शंकरराज थपलिया, कांग्रेसका टेकप्रसाद गुरुङ र राप्रपाका दीपक थापासहितका उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् । भरतपुरमा आफूले गरेको योगदानलाई मतदाताले सहि मूल्याङ्कन गर्ने भन्दै नेकपाकी दाहालले चुनावी प्रचारलाई व्यापक बनाएकी छन् ।
यसअघिको निर्वाचनमा काठमाडौं २ बाट विजयी भएकी रास्वपाकी गौतम चितवन पुगेकी हुन् । मतदाता भेटघाटलाई तीव्रता दिएकी गौतम संसद्मा प्रभावकारी भूमिका निभाउन सक्ने व्यक्ति चयन गर्नुपर्ने बताउँछिन् । २०७९ को निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले यस पटक भने उम्मेदवारी दिएका छैनन् । विगतमा स्थानीय तहको निर्वाचनदेखि संसदको चुनावसम्म दलहरुबीचको गठबन्धनका कारण दलहरुभित्रैबाट असन्तुष्टीको स्वर निकै सुनिएको चितवनका तीनै वटा क्षेत्रमा यस पटक दलहरुले एक्लै प्रतिस्पर्धा गर्दैछन् । आफ्नो प्रभाव विस्तार गर्दै दलहरुले जित्ने रणनीतिले कतिको सार्थकता पाउँछ त्यो भने हेर्न बाँकी छ ।












