सम्झनामा विश्वबन्धु थापा: राणाविरुद्धको क्रान्तिदेखि गणतन्त्रसम्मका महत्वपूर्ण साक्षी

फाल्गुन ४, २०८२ | अनिल बोगटी

वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाको ९८ बर्षको उमेरमा निधन भएको छ । उनी जहाँनिया राणा शासनविरुद्धको क्रान्तिदेखि गणतन्त्र स्थापनासम्मका घटनाक्रमका एक महत्वपूर्ण साक्षी थिए ।राष्ट्रिय विभूति भीमसेन थापाका पाँचौं पुस्ताका पारिवारिक सदस्य विश्वबन्धु थापाको परिचयलाई अनेकौं रुपमा परिभाषित गर्न सकिन्छ । नेपाली कांग्रेसको सदस्यदेखि तत्कालिन राजा महेन्द्रका सहयात्री मात्र होइन, पञ्चायती व्यवस्थाका योजनाकारका साथै बहुदलको वकालत गर्ने पात्रको रुपमा थापालाई लिइन्छ । इतिहासको दस्तावेजमा उल्लेख भए अनुसार विश्वबन्धुलाई सबैभन्दा बढी चिनाउने भनेको पञ्चायतका हिमायति राजा महेन्द्रका एक बफादार सहयोगी हो ।

भनिन्छ, तुलसी गिरी ‘पञ्चायतकी आमा’ हुन् भने विश्वबन्धु थापा ‘पञ्चायतका पुरेत’ थिए । कारण हो, विश्वबन्धुले नै पञ्चायतको नामाकरण गरेका हुन् । पञ्चायतको पक्षमा लाग्नुअघि उनी कंग्रेसमा आवद्ध भएका थिए । थापा राणाकालीन समयमा निर्वासनको पृष्ठभूमिबाट राजनीतिमा होमिएका हुन् । विद्यार्थी जीवनमा समाजवादी आन्दोलनको पक्षधर भएका थापाले नेपाली कांग्रेसको स्थापना र राणाशासन विरोधी संघर्षका दिनलाई नजिकबाट हेर्ने मौका पाए । २००७ सालमा कांग्रेस, राजा र राणाबीचमा भारतको नयाँ दिल्लीमा त्रिपक्षीय सम्झौता भएको समयको सेरोफेरोमा उनी कंग्रेसको केन्द्रीय सदस्यमा मनोनीत भएका थिए । २०१२ सालमा भएको सम्मेलनबाट थापा पार्टीको सहायक महामन्त्री भएका थिए । त्यसको दुई बर्षपछि वीपी कोइराला कंग्रेस सभापति हुँदा उनी महामन्त्री बनेका थिए ।

२०१५ सालको पहिलो आमनिर्वाचनमा नेपाली कंग्रेसले दुईतिहाइ बहुमत हासिल गर्दा विश्वबन्धु पनि सांसद भए । उनले चितवनबाट चुनाव जितेका थिए । वीपी कोइरालाका विश्वासपात्र मानिएका थापा पार्टीको संसदीय दलका प्रमुख सचेतक थिए । तर राजा महेन्द्रले २०१७ पुस १ गते निर्वाचित सरकारलाई अपदस्थ गर्दै शासन सत्ता हत्याएपछि विश्वबन्धुको राजनीतिले नयाँ बाटो लियो । महेन्द्रले बनाएको मन्त्रीपरिषद्ुमा थापा मन्त्री भएका थिए । पञ्चायतकालमा थापाले मन्त्रीको भूमिका मात्र निर्वाह गरेन, उनले समय क्रममा राष्ट्रिय पञ्चायतका योजनाकार, राष्ट्रिय पञ्चायतका अध्यक्ष र मन्त्रिपरिषद्का उपाध्यक्ष जस्ता जिम्मेवारी समालेका थिए । पञ्चायतको नामकरणदेखि त्यसका लागि संरचना बनाउने कार्यमा थापाको निर्णायक भूमिका रहेको चर्चा इतिहासका दस्तावेजहरुमा गरिएको छ ।

पञ्चायतमा खेलेको भूमिका कारण आलोचित भएपनि उनले राजा महेन्द्रसँगको विवादका कारण राष्ट्रिय पञ्चायतको सदस्यबाट राजिनामा दिएका थिए । तैपनि २०२६ सालमा उनकै नेतृत्वमा गाउँ फर्क अभियान चलाइएको थियो । अर्कोतर्फ राजा महेन्द्रले पञ्चायती व्यवस्थालाई निरन्तरता दिइरहँदा बहुदलीय प्रणालीमा जानुपर्ने मत राखेकाले थापा अनुदारवादीहरुको तारो बनेका थिए । जसका कारण उनी चितवनमा गाउँस्तरिय चुनावमा लड्दा पराजित भए । त्यसपछि उनले २०३५ सालमा गाउँ फर्क अभियानको अध्यक्षबाट राजिनामा मात्र दिएन । २०३६ सालको जनमत संग्रहमा बहुदलको प्रचारमा लागेका थिए । पछि उनी वीपी कोइरालाको आग्रहमा कंग्रेसमा फर्किएपनि लामो समय त्यहाँ रहन सकेनन् ।

थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापनामा योगदान गर्दै पार्टीको विस्तारमा भूमिका खेलेका थिए । यसरी राजनीतिमा अनेकौं उतारचढाव भोगेका विश्वबन्धु थापाले पछिल्ला बर्षहरुमा बेलाबखत्मा सञ्चारमाध्यमलाई अन्र्तवार्ता दिदै राणाशासन विरोधी आन्दोलन, पञ्चायती व्यवस्थाका साथै कंग्रेस नेताहरुसँगको सम्वन्ध लगायत बिषयमा धारणा राखेको पाइन्छ । उनै थापाको ९८ बर्षको उमेरमा शनिवार निधन भएको हो । योसँगै नेपाली राजनीतिक इतिहासको एउटा अध्याय र पञ्चायती युगको एक साक्षीको समेत अवसान भएको छ । यसैबीच, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले थापाको निधनमा शोक वक्तव्य दिदै भनेका छन्– थापाको निधनबाट देशले एकजना अग्रज र अनुभवी राजनीतिज्ञ एव्म राप्रपाले आफ्नो अभिभावक र संस्थापक नेता गुमाएको छ । थापाको आइतवार अन्त्येष्टी गरिएको छ । 


प्रतिक्रिया