हिमपातका कारण मनाङका केही मतदान केन्द्रलाई सदरमुकाम सार्ने तयारी
फाल्गुन ९, २०८२ | काठमाडौं
हिमपातका कारण मनाङका केही मतदान केन्द्रलाई सदरमुकाम सार्ने तयारी गरिएको छ । नार्पाभूमि गाउँपालिकाका मतदान केन्द्रलाई अस्थायी रुपमा सदरमुकाममा सार्ने तयारी गरिएको हो । त्यहाँ ४ सय ८८ मतदाता छन् ।
पाँच वटै वडामा मतदान केन्द्र कायम गरिएका र मौसम अनुकूल नभएमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिनुभयो । मनाङ सदरमुकाम चामेबाट नार्पाभूमिका मतदान केन्द्र पुग्न हिँडेर दुई दिन लाग्छ ।
नार्पाभूमि गाउँपालिकाका वडा नं १ देखि ३ सम्म नार क्षेत्रमा तीन, वडा नं ४ र ५ को फू क्षेत्रमा दुई गरी पाँच वटा मतदान केन्द्र कायम गरिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गए पनि मनाङका केही मतदान केन्द्रको अनुगमन गर्न समस्या भएको छ ।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले हिमपातका कारण नार्पाभूमि गाउँपालिकामा रहेका मतदान केन्द्रको अनुगमनमा समस्या भएको बताउनुभयो ।









