दोलखाको उच्च भेगमा हिमपात
फाल्गुन १२, २०८२ | दोलखा, केदार शिवाकोटी
दोलखाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । तल्लो क्षेत्रमा असिनासहित वर्षा भएको छ । आज दिउँसोबाट जिल्लाको कालिञ्चोक, शैलुङ, चेर्दुङ, बेदिङ, लप्ची लगायतको उच्च हिमाली क्षेत्रमा हिमपात भैरहेको हाम्रा सहकर्मीले जनाएका छन् ।
यस्तै चरिकोटसहित तल्लो क्षेत्रमा असिनासहित वर्षा भैरहेको छ । हिउँदे वर्षा र हिमपातका कारण मकै छर्न ठिक्क परेका तल्लो क्षेत्रका किसानले राहतको महसुस गरेका छन् ।
यस्तै माथिल्लो क्षेत्रमा हिमपातले आलु रोपिसकेका किसान बारीमा चिस्यान पुग्ने भन्दै खुसी भएका छन् । यस्तै शैलुङ र कालिञ्चोकमा हिमपात भएका कारण आन्तरिक पर्यटकको चहलपहल बढने भन्दै होटल व्यवसायी उत्साहित बनेका छन् ।










