आजबाट मतदाता नामावली संकलन शुरु
चैत्र २२, २०८२ | काठमाडौं
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित मतदाता नामावली संकलन शुरु गरिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मंसिर ६ गतेदेखि नामावली संकलन स्थगन गरेको थियो। गत बिहीबार बसेको आयोगको बैठकले मतदाता नामावली सङ्कलन सुरु गर्ने निर्णय गरेको हो ।
स्थगित सो कार्यक्रम आजदेखि पुनः सञ्चालन गर्न लागिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्ने छ। आफ्नो फोटो तथा औठाछापसहितको जैविक विवरण प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्नेछ ।
मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।









