एन्फाको निर्वाचन एक साताभित्र गर्न फिफा र एएफसीको निर्देशन
चैत्र २२, २०८२ | काठमाडौं
विश्व फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फाको रोकिएको निर्वाचन एक साता भित्र गर्न निर्देशन दिएका छन् । दुवै संस्थाले संयुक्त रूपमा पठाएको पत्रमा सात दिनको समयसीमामा निर्वाचन हुन नसकेमा निलम्बनको प्रक्रिया अगाडि बढाउने पनि चेतावनी दिइएको छ । सो बिषय फिफा काउन्सिलमा पेस गरिनेछ ।
फिफा र एएफसीको पत्रमा आफ्नो सदस्य संघले तेस्रो पक्षको कुनै पनि हस्तक्षेपबिना स्वतन्त्र रूपमा गतिविधि गर्न पाउने पनि उल्लेख गरिएको छ । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । राखेपले एन्फाले गर्ने भनेको ’अर्ली इलेक्सन’को निर्णयलाई स्वीकार गरेको थिएन ।
राखेपको निलम्बनपछि एन्फाको चैत १३ मा झापामा हुने भनिएको चुनाव पनि स्थगित भएको थियो । फिफा र एएफसीले राखेपको कामलाई तेस्रो पक्षको हस्तक्षेप भनेको छ र यसको समयमै समस्या समाधान नभए गम्भीर परिणाम आउने पनि जनाएको छ । यसैबीच एन्फाले पनि प्रेस विज्ञप्ति जारी गर्दै राखेपलाई निलम्बनको निर्णय रद्द अथवा खारेज गर्न माग गरेको छ ।









