अमलेखगन्जमा २० प्रतिशत इन्धन कटौती
चैत्र २९, २०८२
नेपाल आयल निगमको मधेश प्रादेशिक डिपोले इन्धनको नियमित बिक्रीमा २० प्रतिशत कटौती गर्न थालेको छ ।
इन्धन बचत गर्ने उद्धेश्यले निगमको अमलेखगन्जस्थित डिपोबाट बिक्री हुने इन्धनमा कटौती गरी निजी पेट्रोल पम्पहरुलाई उपलब्ध गराउन थालेको हो ।
यो डिपोबाट दैनिक दुई हजार किलोलिटर पेट्रोल, ६ हजार किलोलिटर डिजेल तथा २० किलोलिटर मटीतेल बिक्री हुने गरेकोमा केही दिन अघिबाट २० प्रतिशत कटौती गरिएको डिपोका प्रमुख प्रलयंकर आचार्यले बताउनुभयो ।
अमलेखगञ्ज डिपोले अहिले दैनिक करिव ९ हजार किलोलिटर पेट्रोलियम पदार्थ जनकपुर, वीरगञ्ज, काठमाडौं, पोखरा, विराटनगर र भैरहवामा रहेका डिपोमा स्टक ट्रान्सफर तथा स्थानीय पम्पहरुमा बिक्री गर्दै आएको छ ।
घाटामा इन्धन बेचिरहेका कारण निगमले भारतीय आयल निगमलाई पैसा तिर्न नसक्ने अवस्था आउन सक्ने भएकाले इन्धन बिक्री कटौती गरिएको निगमको भनाइ छ ।











