इंग्लिस प्रिमियर लिगमा म्यान सिटी र लिभरपुलको जित

वैशाख ७, २०८३ | काठमाडौं

इंग्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा म्यानचेस्टर सिटीले शीर्षस्थानको आर्सनलविरुद्ध २–१ को कठिन जित निकालेको छ ।

सिटीलाई गएराति घरेलु मैदान इतिहाडमा जित दिलाउन रायन चेर्की र अर्लिङ हालान्डले समान एक÷एक गोल गरे ।

आर्सनलका काई हाभेर्टजले गोल गरे पनि टोलीको हार टार्न सकेनन् । यो जितसँगै सिटीले आर्सनलसँगको अंकदूरी घटाएको छ ।

जितबाट दोस्रो स्थानको सिटीले तीन अंक जोड्दै तालिकामा ६७ अंक जोडेको छ । आर्सनल भने हारका बाबजदु ७० अंकसहित तालिकाको शीर्षस्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा एभर्टनलाई घरेलु मैदानमा लिभरपुलले २–१ ले पराजित गरेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह र भर्जिल भानडाइकले समान एक/एक गोल गरे ।

एभर्टनका बेटोले गोल गरे पनि टोलीको हार टार्न सकेनन् । 

जितसँगै लिभरपुल ५५ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । एभर्टन भने ४७ अंकका साथ तालिकाको १०औँ स्थानमा सिमित छ ।


प्रतिक्रिया