नाईक र एडिडासद्वारा अमेरिकाका राष्ट्रपतिको ध्यानाकर्षण

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ८, २०७६ | बीबीसी

अमेरिका र चीनबीचको व्यापार युद्धले सेवाग्राहीहरु मर्का परेको भन्दै चर्चित जुत्ता कम्पनीहरु नाईक र एडिडासले चेतावनी सहितको ध्यानाकर्षण पत्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुझाएका छन् । व्यापार युद्ध रोक्न भन्दै यी दुई कम्पनीले अन्य १ सय ७२ कम्पनीहरुको हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई बुझाएका हुन् ।

चीनबाट आयात हुने सामग्रीमा २५ प्रतिशत करवृद्धि गर्ने अमेरिकी निर्णयले मजदुरहरु मर्कामा परेको भन्दै उनीहरुले भविष्यको व्यापार समेत प्रभावित हुने तर्फ राष्ट्रपति ट्रम्पको ध्यानाकर्षण गराएका छन् । अमेरिकामा जुत्ताचप्पलमा ११ दशमलव ३ प्रतिशत कर लाग्दै आएपनि सरकारको लापरवाही र बारम्बारको बृद्धिले उपभोक्ता सतप्रतिशतसम्म कर तिर्न बाध्य भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

अमेरिका र चीनको व्यापार युद्ध अन्त्यबारे दुई मुलुकबीच एक साताअघि भएको वार्ता असफल भएपछि अमेरिकाले यसअघि चिनियाँ सामानमा लिँदै आएको १० प्रतिशत आयकर बढाएर २५ प्रतिशत पुर्‍याएको छ । अमेरिकाले २ अर्ब बराबरका चिनियाँ सामग्रीमा करवृद्धिको घोषणा यसअघि नै गरिसकेको छ । 


प्रतिक्रिया