अस्ट्रेलियामा पहिलोपटक इच्छामृत्युको अधिकार

असार २, २०७६ | अस्ट्रेलिया

निको नहुने रोग लागेर आफ्नो जीवन टुङ्गयाउन चाहनेका लागि अस्ट्रेलियाले पहिलोपटक इच्छामृत्युको अधिकार दिएको छ । भिक्टोरिया राज्यले कानुन बनाएर शुरु गरेको इच्छामृत्युको अधिकारको प्रावधान पर्सी बुधबारदेखि लागु हुनेछ ।

भिक्टोरिया राज्यले गतबर्ष संसदबाट बिधेयक पारित गरेपछि यो नियमले पुर्णता पाएको थियो । निको नहुने रोग लागेकाले इच्छामृत्युको अधिकार पाउनका लागि सरकारले तोकेको ६८ वटा बिभिन्न प्रावधान पुरा गर्नुपर्नेछ । यो प्रावधान पुरा भएका नागरिकहरुले चिकित्सकसमक्ष आफ्नो योग्यताको जाँच गरिदिन आग्रह गर्न सक्नेछन् ।

इच्छामृत्युको अधिकार प्रयोग गर्नका लागि निको नहुने रोग लागेको र त्यसले सहन गर्न नसक्ने पीडा दिएको हुनुपर्नेछ । यसैगरी सो रोगबाट ६ महिनाभन्दा कम मात्र बाँच्ने सम्भावना हुनुपर्ने उल्लेख छ । 

इच्छामृत्युका लागि दुईजना चिकित्सकले बिरामीलाई जाँच अनुसन्धान गरेर प्रक्रियामा सहमती जनाउनुपर्नेछ ।

चिकित्सकले सहमती जनाएर सिफारिस गरेपछि मात्र फार्मेसीबाट यस प्रक्रियाको औषधि खरिद गर्न पाइनेछ । इच्छामृत्यु चाहने ब्यक्ति कम्तिमा पनि १८ बर्षभन्दा माथिको हुनुपर्नेछ भने सोही राज्यमा १ बर्षदेखि बसोबास गरेको हुनुपर्नेछ । यसैगरि आफ्नो बारेमा निर्णय लिने क्षमता भएको समेत हुनुपर्ने जनाएको छ । 

यसको कार्यन्वयनको पक्ष हेर्न र निरिक्षण गर्नका लागि बिज्ञहरुको समुह गठन गरिएको थियो भने प्रत्येक मृत्युलाई स्वतन्त्र समुहले समीक्षा गर्ने उल्लेख गरिएको छ । 

कानुनी प्रावधानहरु पुरा गरेका नागरिकहरुलाई चिकित्सकहरुले सो प्रकारको औषधि सिफारिस गरेर उनीहरुको इच्छामृत्युको चाहनालाई पुरा गर्नेछन् । सरकारले आयोजना गरेको यससम्बन्धि जानकारीमुलक सेमिनारमा करिब २ हजार २ सय बढीले सहभागीता जनाइसकेका छन् । तरपनि चिकित्सकहरुले बुधबारअघि कसैको पनि आवेदन स्वीकार गर्ने छैनन् ।

समाचारमाध्यमहरुका अनुसार यहाँका ८९ जना चिकित्सकहरुले यससम्बन्धि तालिम लिइसकेका छन भने सार्वजनिक स्वास्थ्य संस्थाहरुमा एकजना तालिमप्राप्त स्वास्थ्यकर्मी यो प्रक्रियाको मुल्यांकन गर्नका लागि रहनेछन् । 

एबिसीका अनुसार इच्छामृत्युको कानुनी प्रक्रियाबाट मृत्यु रोज्न सबै प्रावधान पुरा भइसकेपछि स्वास्थ्य सम्बन्धि सामाग्री बिरामीको घरमा पुरयाइनेछ र परिवारहरुको उपस्थितीमा यसको प्रक्रियाका बारेमा जानकारी दिनेछन् ।

औषधि रहेको बन्द बाकसको चाबी बिरामीलाई दिइनेछ भने इच्छामृत्यु चाहने बिरामीले उक्त औषधि खाएर जीवन त्याग्नुअघि अन्य केही औषधिहरु पनि लिनुपर्नेछ । अन्त्यमा मृत्यु चाहने ब्यक्ति आफैले औषधिलाई मिसाएर लिनुपर्नेछ ।

स्वास्थ्यमन्त्री जेनी मिकाकोसले भनिन्, ‘यो वास्तवमा भिक्टोरिया मात्र नभएर समग्र अस्ट्रेलियाको लागि ऐतिहासिक परिवर्तन हो ।’ उनले सम्मानजनक मृत्यु पनि सम्मानजनक जीवनको पाटो भएकाले समेत यसलाई बैध बनाइएको बताइन् । 

अस्ट्रेलियाको नर्दन टेरिटोरी राज्यमा २ दशकअघि इच्छामृत्युको अधिकार दिइएको भएपनि यसलाई केही समयपछि नै हटाइएको थियो । यहाँका अन्य राज्यहरु न्यु साउथ वेल्स, पश्चिम अस्ट्रेलिया, क्युन्सल्याण्ड लगायतका राज्यहरुमा समेत इच्छामृत्युको अधिकारलाई बैध बनाउने बिषयहरुमा छलफल र विवाद चल्दै आएको छ ।

अस्ट्रेलियाको कुनैपनि राज्यमा इच्छामृत्युको अधिकार नदिएका कारण उक्त प्रावधान अपनाएर जीवन टुङ्गयाउन यहाँका नागरिकहरु बिदेश जानुपर्ने बाध्यता छ । इच्छामृत्युको अधिकार प्रयोग गरेर जीवन समाप्त गर्ने कानुनी अधिकार भएपनि यसको उच्च माग नहुने अनुमान गरिएको छ ।  


प्रतिक्रिया