श्रीलंका टप्पुको चिलैयामा कोशी कटान तीब्र

असार २६, २०७६ | सुनसरी

सुनसरीको बराहक्षेत्र नगरपालिका– ६ मा पर्ने श्रीलंका टप्पुको चिलैया बस्तीमा कोशी कटान तीब्र भएको छ । लगातारको वर्षापछि कोशी नदीमा पानीको सतह बढेसँगै चिलैया बस्तीमा कटान तीब्र रुपमा बढेको हो ।

बराहक्षेत्र नगरपालिका– ६ का वडा सदस्य श्याम लिम्बुका अनुसार चार दिनदेखि कटान हुन सुरु भएको हो । उहाँले भन्नुभयो, ‘श्रीलंका टप्पुको पूर्वी किनारा भएर बग्ने कोशीले चिलैया बस्तीका करीब ५० घरका डेढ सय परिवार जोखिममा परेका छन् । उद्धारका लागि कतैबाट पहल हुन सकेको छैन ।’ चिलैया बस्तीमा रहेको बालसेवा आधारभूत विद्यालय पनि कटानको जोखिममा परेको उहाँले बताउनुभयो । 

कोशी नदीले पछिल्लो चार दिन यता दैनिक सरदर पाँच मिटरको दरले कटान गरिरहेको वडासस्य लिम्बुले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसरी नै तीब्र कटान हुने जारी रहयो भने अबको केही दिनमा चिलैया बस्ती नै बगाउनेछ । पानीको सतह पनि बढी रहेकाले कहाँ जाने, के गर्ने आत्तिएका छौं ।’  

कोशी नदीको कटान र बाढीको सामना गर्दै श्रीलंका टप्पुमा २०२० सालदेखि तीन हजार बढी विभिन्न समुदाय बसोबास गर्दै आएका छन् । सरकारी निकाय र प्रहरी प्रशासनको कमै उपस्थिति हुने श्रीलंका टप्पु उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको बीचमा पर्दछ ।

वडा सदस्य श्याम लिम्बुले भन्नुभयो, ‘सरकारले पनि कोशीको पूर्वी किनारामा हुने कटान मात्र बढी ध्यान दिने गरेको छ । तर, दुइ भंगालोको बीचमा रहेको श्रीलंका टप्पुको चिलैया टोलमा वर्षेनी हुने कटान र बाढी पीडित प्रति भने कसैले चासो दिने गरेका छैनन् ।’ 


प्रतिक्रिया