वीपी प्रतिष्ठानमा अक्सिजन अभाव

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३, २०७६ | धरान

- सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लाण्ट बिग्रिएपछि अस्पतालमा अक्सिजन अभाव भएको छ । प्रतिष्ठानको अक्सिजन प्लाण्टले एक महिनादेखि अक्सिजन उत्पादन गर्न सकेको छैन ।

६ महिना अघि मात्र ३ करोड २४ लाख रुपैया खर्चेर जडान गरेको नयाँ प्लाण्ट पटक पटक विग्रदै आएपछि अक्सिजन अभाव भएको हो । हाल प्रतिष्ठानले खनारस्थित दुर्गा अक्सिजन प्लाण्टबाट सिलिण्डर किनेर चलाईरहेको छ ।

तर सो प्लाण्टले पनि पर्याप्त अक्सिजन सिलिण्डर उपलव्ध गराउन नसकेपछि प्रतिष्ठानको विरामी बस्ने वार्डमा आपुर्ती गर्न नसकेको श्रोतले जनाएको छ ।

जसका कारण अक्सिजन अनिबार्य चाहिने विरामीलाई वार्डमा भर्ना गर्न नसकिएको एक चिकित्सकले बताए । उनले भने, ‘अक्सिजन अभावले वार्डमा भर्ना नै बन्द गर्नु परेको छ । भर्ना गर्दा अक्सिजन चाहिन्छ, तर पर्याप्त अक्सिजन आपुर्ती हुन सकेको छैन ।’

प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. डा. गुरु खनालले भने विग्रेको अक्सिजन प्लाण्ट मर्मत गर्न दुइसाता देखि प्रयास गरिरहेको बताउनुभयो । 

युनिषि इण्डिया र नेपालको डाइग्नो केनले प्रतिष्ठानमा अक्सिजन प्लाण्ट जडान गरेका थिए् । जडान गरेलगत्तै विग्रेपछि युनिषी इण्डियालाई दायित्व बोध गराउन दवाव दिनका लागि प्रतिष्ठानले भारतीय दुताबासलाई फेरि पत्राचार गर्ने तयारी गरेको श्रोतले जनाएको छ ।

पाचबर्षे वारेण्टी भएपनि प्लाण्टको मर्मत सम्भारमा डाइग्नो केन र युनिषिले वेवास्ता गरेपछि प्रतिष्ठानलाई व्ययभार थोपरिएको छ । 

 


प्रतिक्रिया