अत्यधुनिक सुविधायुक्त संसद भवनको शिलान्यास 

रेडियो कान्तिपुर संवाददाता

आश्विन १, २०७६ | काठमाडौं

संघीय संसदका लागि सिंहदरवारमा सुविधा सम्पन्न अत्याधुनिक भवन निर्माण कार्य सुरु भएको छ । सिंहदरवारको उत्तर पूर्वी क्षेत्रस्थित पुतली बंगैचामा करीब ७ अर्ब रुपैयाँ लागतमा प्रतिनिधि र राष्ट्रिय सभाको भवन निर्माण सुरु भएको हो ।

१ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा बन्ने संसद भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान शिलान्यास गर्नुभयो । आधुनिक कला शैलीमा उच्च प्रविधि र सुरक्षायुक्त भवन निर्माण गर्न लागिएको सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद दवाडीले जानकारी दिनुभयो । 

३ वटा छुट्टा छुट्टै ब्लक रहने भवनमा प्रतिनिधिसभामा ४ सय जना र राष्ट्रिय सभामा करीब १ सय जना अट्ने छन् । संसद सचिवालय, सुरक्षा गार्ड, सभाहल समेत निर्माण गरिने छ । 

ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद बैठकले आफ्नै लगानीमा संघीय संसद भवन बनाउने घोषणा गरेको थियो । सोही घोषणा अनुसार सरकारले आज संसद भवन निर्माणको औपचारिक सुरुवात गरेको हो । भवन निर्माणको बहुवर्षीय ठेक्का लागिसकेको र आगामी ३ वर्षभित्र निर्माण सकिने प्रवक्ता दवाडीले जानकारी दिनुभयो । 

 


प्रतिक्रिया