भलिबलमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २८, २०७६ | काठमाडौं

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्ने क्रममा नेपाली महिला भलिबल टोली  एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियन बनेको छ । नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जित्न महिला टोलीले आज बंगलादेशको ढाकामा भएको फाइनलमा मालदिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । 

प्रतियोगिताभर अपराजित रहेको नेपाली महिला टोलीले खेलेका सबै सेट आफ्नो पक्षमा पार्‍यो । दक्षिण एशियाली खेलकुद सागमा तीन कास्य जिते पनि महिला टोलीले उपाधि जितेको यो पहिलो अवसर हो । यसअघि सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा टोलीले रजतपदक जितेको थियो । नेपालको पुरुष भलिबल टोलीले एभीसी सेन्ट्रल जोनकै तेस्रो संस्करणमा कास्य पदक जितेको थियो ।

शहिद शुरवार्दी इन्डोर हलमा भएको फाइनलमा नेपालले पहिलो सेटमा केहीबेर पछि परेपनि उत्कृष्ट पुनरागमन जनाएको थियो । ४–७ ले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपालले २५–१३ ले सेट जितेको थियो । दोस्रो र तेस्रो सेटमा नेपालले सहज जित दर्ता गरेको थियो । दोस्रो २५–१२ र तेस्रो २५–८ ले जित्दै टोलीले ऐतिहासिक सफलता आत्मसात गर्‍यो । 

त्यसअघि तेस्रो स्थानका लागि आजै भएको स्पर्धामा किर्गिस्तानले घरेलु टोली बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । अंकबिहीन अफगानिस्तान पाँचौ स्थानमा पुछारमा रह्यो । यसैबीच, विधागत उत्कृष्टतामा पनि नेपाली खेलाडीको बर्चश्व रह्यो ।

नेपाली महिला राष्ट्रिय टोलीकी स्पाइकर प्रतिभा मालीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट स्पाइकरको अवार्ड जितिन् । त्यस्तै नेपालकी सलिना श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट लिबेरो, किर्गिस्तानकी मदिना किर्लान उत्कृष्ट सेटर र बंगलादेशकी बिठी उत्कृष्ट ब्लकर घोािष्त भइन् । 


प्रतिक्रिया