कुवेतविरुद्धको खेलका लागि अन्तिम टोलीको घोषणा 

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २९, २०७६ | काठमाडौं

विश्वकप फुटबल २०२२ को छनोट अन्तर्गत कुवेतविरुद्धको खेलका लागि मुख्य प्रशिक्षक योहान कालीनले अन्तिम टोलीको घोषणा गरेका छन् । आगामी मंगलबार भुटानको चाङलिमिथाङ रंगशालामा हुने खेलमा विश्वकप छनोटका अघिल्ला ४ खेल गुमाएका फरवार्ड भरत खवासले टोलीमा स्थान बनाएका छन् ।

चोटका कारण मिडफिल्डर विशाल राई र हेमन गुरुङ टीमबाहिर छन् । म्यानमार विरुद्ध मैत्रीपूर्ण खेलमा डेब्यु गरेका मिक्छेन तामाङले कुवेत विरुद्धको टोलीमा स्थान पक्का गरेका छन् ।  

पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित नेपालले चाइनिज ताइपेइलाई २–० ले हराएको थियो । अष्ट्रेलियासँग उसैको गृह मैदानमा ५–० को हार बेहोरेको नेपालले जोर्डनसँग ३–० को हार बेहोरेको थियो । तालिकामा नेपाल ३ अंकसहित चौंथो स्थानमा छ । शत प्रतिशत नतिजा निकालेको अष्ट्रेलिया शीर्ष स्थानमा छ । चाइनिज ताइपेइ अंकबिहीन छ ।

नेपाली टोलीको गोल रक्षकमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् । त्यस्तै, सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्यालले टोलीको रक्षापंक्ति सम्हाल्ने छन् ।

मिडफिल्डमा रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र मिक्छेन तामाङले स्थान बनाउँदा आक्रमणको जिम्मा विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ र भरत खवासले सम्हाल्ने छन् । 


प्रतिक्रिया