सदैव श्रोताको पक्षमा

मंसिर २७, २०७६ | काठमाडौं

पवन आचार्य

नेपालमा रेडियो सुन्ने श्रोताको संख्या घट्दै गएको तथ्याङ्क सार्वजनिक भइरहँदा संयुक्त राज्य अमेरिकामा भने त्यस विपरीतको तथ्याङ्क आएको छ । दी नेल्सन कम्पनीले गत जुनमा सार्वजनिक गरेको तथ्याङ्कमा ९० प्रतिशतभन्दा बढी अमेरिकीको पहूँच रेडियोमा भएको देखाएको छ । सो सर्वेक्षणमा टेलिभिजनको पहूँचमा ८६ प्रतिशत अमेरिकी रहेको देखिएको छ । 

१८ वर्षभन्दा माथिका २४ करोड अमेरिकीले सबैभन्दा बढी रेडियो सुन्ने नेल्सनको सर्वेक्षणमा देखिएको छ । जबकी सामाजिक सञ्जालमा धेरै समय बिताउनेहरुको संख्या १७ करोड ७८ लाख रहेको सोही सर्वेक्षणले देखाएको छ । नेपालको हकमा भने परिस्थिति ठ्याक्कै उल्टो छ ।

शेयरकाष्ट इनिसिएटिभ गरेको ४ हजार १ सय २९ जनामा गरेको सर्वेक्षण ‘नेपाल मिडिया सर्वे २०१९’ का अनुसार ९१ प्रतिशत नेपालीले कम्तिमा एउटा मोबाइल सेट बोक्छन्, त्यसमा आधाभन्दा बढीले स्मार्ट फोन प्रयोग गर्छन् । हाल ८० लाखभन्दा बढी नेपालीको फेसबुक एकाउन्ट छ । सर्वेक्षणले पनि ८८ प्रतिशतभन्दा बढीले फेसबुक चलाउने र ४५ प्रतिशतले मेसेन्जर चलाउने देखाएको छ ।

नेपालमा रेडियो सुन्ने श्रोताको संख्यामा कमी आउनुको प्रमुख कारण श्रोताको चाहना र रेडियोले पस्किने सामग्रीबीच मिल्न नसकेको तालमेल पनि हो । त्यसबाहेक रेडियो सेट नभएकै कारण सुन्न नपाउनेहरुको संख्या पनि कम छैन । शेयरकाष्टकै सर्वेक्षणले पनि ५५ प्रतिशतभन्दा बढीले रेडियो सेट नभएकाले रेडियो नसुन्ने गरेको देखाएको छ । 

रेडियो सेटबाट रेडियो सामग्री सुन्नेको संख्या ४८ प्रतिशत छ । जबकी मोबाइलबाट रेडियो सुन्नेहरु ५६ प्रतिशत छन् । त्यसैले रेडियो सञ्चालकहरुले अब श्रोता कतातिर छन् भन्ने बुझेर सोही अनुसार आफ्ना सामग्रीलाई परिस्कृत र प्रविधिमैत्री बनाउन पनि जरुरी भइसकेको छ । पहिले रेडियो सुन्ने हाल सुन्न छाडेका श्रोता पनि ९ प्रतिशत छन् ।

तर, यति हुँदा हुँदै पनि रेडियोलाई सूचनाको स्रोत मान्नेको संख्यामा कमी आएको छैन । समाचार र सूचना सम्प्रेषणमा टेलिभिजनपछि सबैभन्दा विश्वसनीय रेडियो नै देखिएको छ । ३५ प्रतिशतले टिभीलाई विश्वास गर्दा ३० प्रतिशतले रेडियोमा विश्वास गरेका छन् । अनलाइन पोर्टलहरुलाई मात्रै २ प्रतिशतले विश्वास गर्ने गरेको सर्वेक्षणले देखाएको छ । 

३८ प्रतिशतले टिभीलाई सूचनाको स्रोत मान्दा ३६ प्रतिशतले रेडियोबाट सूचना पाउने उल्लेख गरेका छन् । रेडियोको पहूँच विकट भौगोलिक क्षेत्रमा समेत रहेकाले पनि यो संख्या बढेको हो । रेडियोको पहूँच नपुगेको क्षेत्र अब नेपालमा शायदै कुनै होला ।

श्रोताको विविधतासँगै रेडियोले पस्किने कार्यक्रममा पनि सोही अनुरुपको विविधता ल्याउन अपरिहार्य भइसकेका छन् । विषयगत रुपमा रेडियोलाई एउटैमा मात्रै केन्द्रित गर्ने परिपाटी हामीकहाँ अलि कम छ । तर, जतिले त्यसलाई अपनाएका छन् । उनीहरु बिस्तारै लोकप्रियताको शिखर चढ्दैछन् । मनोरञ्जन र हाँस्यव्यंग्यलाई पस्किने रेडियो अडियो उपत्यकामा लोकप्रिय छ । त्यस्तै पछिल्लो समय गीत संगीतमात्रै बजाउने रुस्लान एफ.एम पनि चर्चामै छ । बाटोको अवास्थाबारे बुझ्न ट्राफिक प्रहरीले सञ्चालन गर्ने एफ.एम सुन्नेको संख्या पनि बिस्तारै बढ्दैछ ।

यसले के देखाउँछ भने श्रोताको चाहना समयसँगै परिवर्तन हुँदै गइरहेका मात्रै छैन कि एउटा विषय विशेषमा उनीहरुको रुची पनि उत्तिकै बढ्दो छ । पहिलेजस्तो एउटै रेडियोबाट सूचना, मनोरञ्जन, व्यंग्य, शिक्षा, स्वास्थ्य लगायतको जानकारी खोज्ने श्रोता अचेल छैनन् ।

श्रोताले पनि आफू वरपरकै समाचार बढी सुन्न चाहने देखिएको छ । ६९ प्रतिशत भन्दा बढीले स्थानीय गतिविधि र समाचारलाई मन पराउने सोही सर्वेक्षणले देखाएको छ । राष्ट्रिय महत्वका घटनामा २४ प्रतिशतको रुचि हुँदा गीत सङ्गीतमा ४८ प्रतिशतले आफ्नो चाख रहेको बताएका छन् । कृषिसँग सम्बन्धिकत कार्यक्रममा ९ प्रतिशत र महिलाका मुद्दा र सवालमा ६ प्रतिशतको रुचि छ । तर, रेडियो समाचारमा सबैभन्दा बढी समेटिने र प्राथमिकता पाउने राजनीतिक घटनाक्रम र दलगत समाचारमा मात्रै ५ प्रतिशतले चासो प्रकट गर्ने गरेको सर्वेक्षणले देखाएको छ ।

सबै खाले चुनाव, दैवी विपत्ति लगायत हुने समयमा सबैभन्दा बढी प्रभावकारी रेडियो देखिएको छ । त्यतिबेला छिनछिनमा अपडेट गराइराख्ने र प्रयोगका हिसाबले पनि रेडियो सजिलो भएकाले ती बेला यसको प्रयोग र लोकप्रियता दुबै बढ्ने गरेको छ । तर, सुख, दुख, आपत विपत् सबैमा साथीको भूमिका निर्वाह गर्ने रेडियोले आफूलाई सदैव त्यही रुपमा किन उभ्याउन सक्दैन ? अहिलेको यक्ष प्रश्न यही हो । विपत्का बेला आफ्ना घरपरिवारभन्दा श्रोतालाई केन्द्रबिन्दुमा राख्ने रेडियोकर्मीहरु अरुबेला त्यस्तैगरी किन खटिरहेका छैनन् ? यी र यस्ता अनेकन प्रश्नहरुको जवाफ खोज्ने बेला आइसकेको छ । साथै हाम्रा रेडियोहरु कसरी र के उदेश्यले सञ्चालन भइरहेका छन् भन्ने पनि जान्ने बेला भइसकेको छ ।

गाउँघरतिर बुढापाकाले नयाँ पुस्तालाई कथा सुनाउने बेला अन्त्यतिर ‘सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला.....’ भन्दै कथाको बिट मार्थे । उतिबेलादेखि नै श्रोतालाई कति महत्व दिइन्थ्यो भन्ने बुझ्न हामीसबै विगततर्फ फर्किए मात्रै पुग्छ । अचेल हाम्रा रेडियोहरु श्रोता केन्द्रित कम र आत्मकेन्द्रित ज्यादा त भइरहेका छैनन् ? गहिरिएर सोच्ने बेला भएको छ । रेडियाकर्मीसँगै व्यवस्थापकहरुले पनि यसबारे श्रोतालाई समय घर्किनुअघि नै जानकारी गराउँदा उत्तम हुन्छ ।

दूर दराजका नसुनिएका कथालाई जस्ताको त्यस्तै सुनाउने काममा पनि रेडियो कान्तिपुर लाग्नुपर्ने भएको छ । पहूँचका हिसाबले रेडियो नेपालपछिको ठूलो रेडियो हुनुको नातालाई प्रमाणित गर्न पनि सुदूरका कथा र व्यथासँगै आशा र सम्भावनाका अनेकन पाटाहरु पनि रेडियो कार्यक्रम मार्फत् उजागर गर्दै लैजाने काममा रेडियो कान्तिपुर सदैव सचेत छ । सर्वेक्षणले पनि कर्णाली प्रदेशमा ७० प्रतिशतभन्दा बढीले रेडियो सुन्ने गरेको देखाएको छ । तर, रेडियो सुन्ने श्रोता भएका स्थानका समाचार र अन्य रेडियो सामग्रीहरु कति उत्पादन भए वा बजाइए त ? यसको लेखाजोखा गर्नुपर्ने बेला आइसकेको छ । मुलुकका सबै प्रदेशमा आफ्नो स्टेशन भएको रेडियो कान्तिपुर पनि अब श्रोताको चाहना बुझ्न उनीहरुकै माझमा जाने बेला आइसकेको छ ।

दुःख जति बिकाउ अरु हुँदैन । साहित्यमा पनि आँशु बढी बिक्छ । पत्रकारितालाई हतारको साहित्य भनिन्छ । यहाँ पनि नकारात्मकताले बढी स्पेश पाइरहेकोजस्तो भान श्रोता, दर्शक र पाठकलाई पर्न थालेको छ । रेडियो तरङ्गमार्फत् सकारात्मक ऊर्जा प्रवाहका लागि प्रेरणादायी प्रसङ्ग, सन्दर्भ र व्यक्तिलाई प्रस्तुत गरेर समाज रुपमान्तरणमा भूमिका खेल्ने यत्नमा रेडियो कान्तिपुर आगामी दिनमा अझ सशक्त भएर लाग्ने छ । किनभने रेडियो कुनैपनि राजनीतिक दल वा तिनका नेताको प्रभावमा पर्दैनन् भन्नेमा ८५ प्रतिशत श्रोता विश्वस्त छन् ।

श्रोताको यही अविचलित स्नेह र प्रेमलाई जिवन्त राख्ने क्रममा रेडियो कान्तिपुरले आफूलाई सदैव तटस्थ उभ्याएको छ । जुनसुकै घटनाक्रम र परिवेशमा पनि हाम्रो स्थान भनेको श्रोतापट्टि नै हो । कुनै अमुक राजनीतिक पार्टी, व्यक्ति वा संस्थाको पक्ष वा विपक्षमा उभिनेभन्दा पनि सन्तुलित र तटस्थ हुने यत्नलाई नै हामीले सर्वोपरी ठान्यौं, ठानिरहने छौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सञ्चार माध्यमले प्रस्तुत गरेका समाचार र सूचनालाई आधार मानेर नेपाल प्रेस काउन्सिलले गरेको मिडिया अनुगमनमा पनि रेडियो कान्तिपुर अब्बल साबित भयो । सन्तुलित समाचार र तटस्थ विचार पस्किने रेडियो हुनुका पछाडि श्रोताका मार्गदर्शनले पनि भरपुर भरथेग गर्‍यो भन्ने हाम्रो बुझाइ हो ।

श्रोताका यिनै चाहनाको विविधतालाई विगत २ दशकदेखि सम्बोधन गर्दै आएको रेडियो कान्तिपुरले आगामी दिनमा आफ्ना सामग्रीलाई थप परिस्कृत गर्नुपर्ने देखिएको छ । किनभने कुनै पनि सञ्चार माध्यमका लागि २० वर्षको समय भनेको निकै लामो हो ।

आफूलाई परिपक्व पार्दै सूचना र मनोरञ्जनको दुनियाँमा नयाँ मानक स्थापित गर्नका लागि व्यवसायिक एफएमहरुमाझ अभिभावकीय भूमिका निर्वाह पनि रेडियो कान्तिपुरले नै गर्नुपर्छ । नेपालमा व्यवसायिक रेडियो प्रसारणको इतिहास रेडियो कान्तिपुरसँगै जोडिएकाले यो जिम्मेवारीलाई बोक्ने अभिभारा पनि कान्तिपुरकै काँधमा छ । पछिल्लो दुई दशकमा रेडियो कान्तिपुरले यसका लागि देखाएको अग्रसरता सबै सामू छर्लङ छ ।

कार्यक्रममा विविधता, सूचना सङ्कलनदेखि प्रसारणसम्म गुणस्तरीयता र प्रविधिमा नयाँपन खोज्न जरुरी भइसकेको छ । साथै, संघीयता कार्यान्वयनमा स्थानीय तहलाई बलियो पार्दै लैजाने क्रममा स्थानीय समाचार र विषयलाई मुलधारमा स्थापित गराउनुका साथै भाषिक, क्षेत्रीय र जातिय विविधतालाई समेत सम्बोधन गर्नुपर्ने आजको माग हो ।