यातायातका साधन आयातका लागि बैकल्पिक नाका बन्दै भैरहवा

असार १४, २०७३ | भैरहवा

 

विभिन्न यातायात साधनका नेपालस्थित आधिकारिक बिक्रेताले भैरहवा नाका सुरक्षित ठान्दै यसलाई बैकल्पिक नाकाको रुपमा प्रयोगमा ल्याउन थालेका छन् ।

मधेस आन्दोलनका वेला धेरै दिनसम्म बीरगञ्ज नाका अवरुद्ध भएपछि बीरगञ्ज नाकाबाट नेपाल भित्रिने गरेको सवारी साधनको आयात भैरहवा नाकाबाट हुन थालेपछि त्यसलाई नै सुरक्षित मानेर प्रयोगमा ल्याउन थालिएको हो ।

बीरगञ्ज नाका सहज भैसकेपछि पनि आयातकर्ताले भैरहवा नाका सुरक्षित ठान्दै भैरहवा नाकालाई बैकल्पिक नाकाको रुपमा निरन्तरता दिन थालेका हुन् ।

सवारीका साधन भैरहवा नाकाबाट भित्रिन थालेपछि भैरहवा भन्सारले एक बर्षमा संकलन गर्नुपर्ने राजश्व साढे चार महिना आगाडी नै पुरा गरिसकेको थियो ।

भैरहवा भन्सार कार्यालयका निमित्त प्रमुख गणेश अर्यालले मधेस आन्दोलनका बेला भैरहवा नाका सवै भन्दा सुरक्षित हुनुले आयातको क्रम बढ्न थालेको र सवै भन्दा धेरै सवारीका साधन आयात हुने गरेको बताउनुभयो । अर्यालका अनुसार भैरहवा भन्सारले संकलन गर्ने गरेको कुल भन्सार राजश्वमध्ये ४८ प्रतिशत योगदान नयाँ सवारी साधनको आयातबाट छ ।

भैरहवा भन्सार कार्यालयको तथ्याङ्क अनुसार, चालु आर्थिक बर्षको जेठ २६ सम्म १७ अर्व ६ करोड ६३ लाख रुपैयाँ मुल्यका जिप, कार भ्यान, मोटरसाईकल, ट्रक, मिनी ट्रक, डबल क्याव पिकअप, सिङ्गल पिकअप गाडी भैरहवा नाकाबाट नेपाल भित्रिएका थिए । यसबाट भन्सारले २२ अर्व ७२ करोड ६४ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

गत बर्ष यही अवधिमा यातायातका सवारी साधनको आयातबाट भैरहवा भन्सारले ३ अर्व १५ करोड ४५ लाख रुपैयाँ मात्र राजश्व प्राप्त गरेको थियो ।

टाटा, हुन्डाई, मारुती, मित्सुबिसी, महेन्द्र लगायत्का कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेताले भैरहवा नाकाबाट आयात गर्न थालेका छन् ।

 


प्रतिक्रिया