कुलेखानी—३ को समय छैठौं पटक थप्ने तयारी

श्रावण १३, २०७४ | हेटौंडा

स्वदेशी लगानीमा निर्माणाधिन कुलेखानी तेस्रो जलविद्यूत आयोजनाको निर्माण कार्य सम्पन्न गर्न अझै चार महिना लाग्ने भएको छ । साउन महिनासम्ममा काम सम्पन्न गर्ने गरी पछिल्लो पटक थपिएको म्याद सकिन लाग्दा कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले पुन: चार महिना थप्ने तयारी गरेको छ ।

पछिल्लो पटक साउनसम्ममा निर्माण सम्पन्न गर्ने  उद्देश्यका साथ म्याद थपेकोमा काम नसकिएपछि पुन: चार महिना समय थपका लागि विद्यूत प्राधिकरणसंग आग्रह गरिएको आयोजना प्रमुख सुभाषकुमार मिश्रले जानकारी दिनुभयो ।

हालसम्म आयोजनाको ८० प्रतिशत काम सकिएको छ । इलेक्ट्रोमेकानिकलतर्फ ७० प्रतिशत र सिभिलतर्फ ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ । २०६४ चैतदेखि काम सुरु गरिएको सो आयोजना २०६८ सालमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । पटक/पटकको म्याद थप भएसंगै लागत पनि वढने अनुमान गरिएको छ ।

कुलेखानी ३ को सुरु निर्माण लागत २ अर्व ४३ करोड अर्थात प्रतिमेगावाट १७ करोड ३६ लाख रुपैया थियो । तर १४ मेगावाट क्षमताको सो आयोजना निर्माण सकिदा सम्म ५ अर्ब बढी रकम खर्च हुने अनुमान गरिएको छ ।

 


प्रतिक्रिया