लाङटाङ घुम्न जाने पर्यटकको संख्या बढ्यो
श्रावण ७, २०७५ | रसुवा
रसुवाको लाङटाङ क्षेत्र घुम्न जाने पर्यटकहरुको संख्या बढेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको तथ्याङक अनुसार आर्थिक वर्ष ०७४/०७५ मा १३ हजार ७ सय ५९ पर्यटकले लाङटाङ क्षेत्रको भ्रमण गरेका थिए । २०७२ सालको भूकम्प अघि करीब १६ हजार पर्यटकले लाङटाङ भ्रमण गरेका थिए । भूकम्प पछि लाङटाङ घुम्न जाने पर्यटक घटेर ४ हजारमा झरेको थियो ।
तर अहिले लाङटाङ क्षेत्र घुम्न जाने पर्यटकको संख्या बढेर भूकम्प अगाडिकै अवस्थामा पुगेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताउनुभयो । भूकम्प पछि लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकहरुको संख्या क्रमिक रुपमा वृद्धि हुँदै गएको छ । २०७२ बैशाख १२ गतेको भूकम्पले लाङटाङको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको थियो । सुन्दर पर्यटकीय क्षेत्र लाङटाङ अहिले पुनर्निर्माणसंगै पुरानै अवस्थामा पुगेको छ ।
भूकम्पले भत्काएको तीन वटै पर्यटकीय पदमार्गहरुको मर्मत तथा सुधार र होटलहरुको पुनर्निर्माण सम्पन्न भइसकेको छ । बस्ती नजिकैबाट लाङटाङ ग्लासियर र हिमालको अवलोकन गर्न सकिने भएकाले पर्यटकको रोजाइमा लाङटाङ क्षेत्र पर्ने गरेको स्थानीय पर्यटन व्यावसायी तेम्बा लामाले बताउनुभयो ।
‘काठमाडौबाट छोटो र सजिलो पदमार्गमा लाङटाङ क्षेत्र पर्दछ’ उहाँले भन्नुभयो, ‘थोरै दिनमा एकै पटक धेरै कुरा हेर्न सकिन्छ त्यसैले लाङटाङ घुम्न पर्यटकले मन पराउँछन् ।’ पछिल्लो समय भूकम्प पछिको लाङटाङको अवस्था कस्तो छ भनेर हेर्न आउने पर्यटकहरु धेरै रहेको लामाले बताउनुभयो । नेपालको तेस्रो पर्यटकीय पदमार्गको रुपमा लाङटाङ क्षेत्र रहेको छ ।
लाङटाङ अहिले पुनर्निर्माण संगै पुरानै अवस्थामा फर्किसकेको घोडातबेलाका होटल व्यावसायी ढिण्डुप तामाङले बताउनुभयो । पर्यटक बस्नको लागि सुरक्षित होटल र घर निर्माण भइसकेको भन्दै उहाँले भूकम्पले भत्काएको गोरेटो बाटो र पुल पनि निर्माण भइसकेको जानकारी दिनुभयो ।
पर्यटकका लागि रसुवामा घुम्न तीन वटा पदमार्गहरु रहेको छ । धुन्चे, गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बु, स्याफ्रुबेसी हुंँदै लाङटाङ र तामाङ सम्पदा मार्गको स्याफ्रुबेसी देखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुबेसी सम्मको पदमार्ग रहेको छ ।
पर्यटकहरु गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्र भित्रका जैविक विविधता, रामसार साईटमा सूचीकृत गोसाइँकुण्ड, तामाङ सम्पदा मार्ग भित्र रहेको तामाङ कला र संस्कृति, लगायतका विभिन्न क्षेत्रहरुको अवलोकन गर्न जाने गर्दछन् ।
पछिल्लो वर्ष लाङटाङ र गोसाइँकण्ड क्षेत्र घुम्न आउने आन्तरिक पर्यटक पनि बढ्दै गएको छ । सार्क मुलुकका २ सय ८९ जना लाङटाङ क्षेत्र घुम्न आएका छन् । लाङटाङ क्षेत्र घुम्न आउने अन्य देशका पर्यटकहरुमा अष्ट्ेरलिया, क्यानडा, इजरायल, फ्रान्स, जर्मन, जापान, अमेरिका, कोरिया, बेलायत लगायत २४ भन्दा बढी राष्ट्रका रहेका छन् ।







