महंगो भएपछि डोल्पामा खाद्यको चामल बिकेन

आश्विन २९, २०७५ | डोल्पा (दुनै)

न्यून खाद्यन्न उत्पादन हुने डोल्पा जिल्लामा ढुवानी अनुदानमा सरकारले उपलब्ध गराउने चामल महंगो र गुणस्तरको नभएको भन्दै स्थानीयहरुले चामल किनेनन् । सधै खाद्यन्नको अभाव रहने डोल्पामा यस पटक भने यो समस्या नेपाल खाद्य संस्थानमा देखिएको छैन । नेपाल खाद्य संस्थान चामल बिक्री वितरणका लागि दोकान थापेर बसेको छ ।

तर नेपाल खाद्य संस्थान मार्फत डोल्पा पुगेको जापानी चामल खानका लागि त्यति राम्रो नभएको र महंगो पनि भएको भन्दै स्थानीयले खरिद नगरेपछि गोदाममै थन्किएको छ ।    नेपाल खाद्य संस्थान शाखा कार्यालय डोल्पाका अनुसार गत वर्षकै स्टक रहेको जापानी चामल दशैसम्म पनि बिक्री भएको छैन ।

दशैंका लागि बिक्री खोलिएको बेला पनि स्थानीयहरुले लिन मानेनन् थोरै मात्र बिक्री भएको खाद्य संस्थान डोल्पाको जिन्सी फाँटको जिम्मा लिएका हिरामणी जोशीले बताउनुभयो । उहाँका अनुसार दशैंका लागि खोलिएको बिक्रीमा दुनैमा ४ सय क्वीन्टल जति, सर्मीमा डेढ सय क्वीन्टल जति र जुफालमा डेढ सय क्वीन्टल जति मात्र बिक्री भयो ।

नेपाल खाद्य संस्थान शाखा कार्यालय डोल्पाको दुनै गोदाममा ९ सय, जुफाल गोदाममा साढे ३ सय क्वीन्टल र सर्मी डिपोमा साढे १ सय क्वन्टल अझै बिक्री हुन सकेको छैन । चामल बिक्री नहुनुमा महंगो भएको आरोप स्थानीय उपभोक्ताहरुले बताएका छन् । ५५ रुपैयाँ प्रतिकिलोग्राम रहेको यो जापानीज चामल मूल्य बढाएर नेपाल खाद्य संस्थानले ६५ रुपैयाँ प्रतिकिलोग्राम पुर्‍याएको थियो । त्यो मूल्यमा बिक्री नभएकाले घटाएर प्रतिकिलोग्राम ६१ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।

यस मूल्यमा पनि बिक्री नभएकाले अझै घटाउने निर्णयमा खाद्य संस्थान शाखा कार्यालय डोल्पाको स्रोतले जनाएको छ । गाउँमा खाद्यन्नको त्यति अभाव नभएकाले पनि बिक्री हुन नसकेको अनुमान नेपाल खाद्य संस्थानले गरेको छ ।

जिल्लाको सिमानासम्म मोटर बाटोले छोएपछि ट्याक्टरले चामल लगायतका दैनिक उपभोग्य सामग्रीहरु सस्तिने क्रममा रहेकाले पनि नेपाल खाद्य संस्थानको चामल बिक्री नभएको हुन सक्ने एक स्थानीयले बताए । उनले भने, ‘त्रिवेणीमा जीरा मसिनो चामललाई प्रतिकिलोग्राम ७० रुपैयाँ जतिमा पाइन्छ भने त्यहाँबाट घरमा ल्याउन्जेल ८० रुपैयाँ जति पर्छ त्यही चामल ल्याएर खाने नि जापानिज चामल त्यति राम्रो छैन त्यसलाई पनि महंगो अनि कस्ले किन्छ ।’ 

यस वर्ष ढुवानी ठेक्का स्वीकृत भएपनि चामल आइ नपुगेको खाद्य संस्थान डोल्पाले जनाएको छ । यो वर्ष त झनै नेपाल खाद्य संस्थानको चामल बिक्री नहुने सम्भावना बढ्न सक्छ । किनकी डोल्पाको सदरमुकाम दुनैदेखि करीब १५ किलोमिटर तल मात्र पर्ने चुंगाडसम्म मोटरबाटो ट्रयाक खुलिसकेको छ । त्यहांसम्म ट्याक्टरबाट सामान ढुवानी हुन थाल्यो भने सामानको ढुवानी भाडा घट्न गई बजारमै पाइने चामल सस्तिन सक्छ । 

खाद्य संस्थानको चामल बिक्री नहुनुमा डोल्पालीहरुको घरमा अन्नको अभाव छैन भन्ने बुझिने जिल्ला समन्वय समिति डोल्पाका उपप्रमुख नरबहादुर बुढा बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल खाद्य संस्थानको चामल लिन कुपन नै लिन जिउ जिउ गर्नु पर्ने, थोरै चामल लिन लाइनमा बसेर धुप खानु पर्ने, चामल लिनका लागि घण्टौं हिँडेर नेपाल खाद्य संस्थानको गोदाममा पुग्नु पर्ने, १ जनाको ४ किलोग्रामका दरले लिनका लागि सदरमुकाम तथा खाद्य डिपो रहेको ठाउँमा बास बस्नु पर्ने झन्जट कस्ले गर्छ ।’ थोरै महंगो भएपनि बजारको चामल किन्छ हिन्छ त्यसैले खाद्य संस्थानको चामल बिक्री हुन कम भएको हो । 

मोटरबाटो निर्माण सम्पन्न हुन लागेको छ । यस खण्डमा पुलहरु लागेर नेपालगञ्ज काठमाडौं लगायतका शहरबाट आउने बस तथा मालबाहक गाडीहरु सीधै डोल्पाका सिमाना हुँदै सदरमुकाम सम्म मात्र आइपुगे भने डोल्पामा रहेको महंगी धेरै गुणा घट्ने अपेक्षा रहेको दुनै बजारमा रहेको गुरुङ होटेलका प्रोपराइटर भक्तबहादुर गुरुङ बताउँछन् । उनका जस्तै धेरैको अपेक्षा दैनिक उपभोग्य सामानको मूल्य सस्तो हुने आशा छ । 


प्रतिक्रिया