सरकारले जनताको लगानीमा जलविद्युत आयोजना निर्माण गर्ने

फाल्गुन १, २०७५ | काठमाडौं

सरकारले नेपाली जनतालाई सेयरमा लगानीका लागि प्रोत्साहन गर्दै जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयर धनी हुने गरी जनताको जलविद्युत आयोजना कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

सो कार्यक्रमको भोलि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने गर्नु हुने भएको छ । योजना अन्तर्गत ३ हजार ३०० मेगावाट क्षमताका १९ जलविद्युत आयोजनामा जनताको लगानी हुने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री वर्षमान पुनले स्वदेशमै छरिएका पुँजीलाई एकत्रित गरेर जनतालाई नै स्वामित्व दिनका लागि नयाँ अभियान सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सकेसम्म सबै जनता यसमा सहभागी हुने अवस्था सिर्जना गर्न हामी प्रयासरत छौं, ३ हजार मेगावटको यस आयोजनाका लागि कम्तिमा पनि ६ खर्ब रुपैयाँ भन्दा बढी आवश्यक पर्छ, त्यसका लाथि जनताको घरमा छरिएको रहेको पुँजीलाई केन्द्रित गरेर लगानी गर्ने ।”

विभिन्न स्थानमा छरिएर रहेका पुँजीलाई सरकारले एकत्रित गरेर जनतालाई नै स्वामित्व दिने साथै यो ठूलो लगानीको लागि नयाँ अवधारणाको रुपमा अघि बढ्ने मन्त्री पुनको भनाई छ ।

यसअघि जारी गरिएको श्वेतपत्रका आधारमा जनतालाई स्व: पुँजीको ४९ प्रतिशत सम्म सेयर लगानी गर्न दिने मन्त्रालयले जनाएको छ । ७ सय २५ मेगावाटको अपर अरुण, ४ सय मेगावाटको अरुण, ४ सय मेगावाटको तल्लो अरुण, ५ सय मेगावाटको किमाथाङ्का अरुण, ४८ मेगावाटको भेरी बबई डाईभर्सन, ५ सय मेगावाटको फुकोट कर्णाली र १ सय १ मेगावाटको तामाकोशी–५ आयोजनामा सर्वसाधारणको सेयर लगानी हुने भएको छ ।

यी सबै आयोजना आकर्षक र नाफामुलक र राम्रो प्रतिफल दिने भएकाले अभियान अन्तर्गत सञ्चालन गरिन लागेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया