‘जनप्रतिनिधि शासक होइन सेवक’ : मन्त्री यादव

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २०, २०७६ | धनकुटा

साना तथा लघु उद्योग सञ्चालनका लागि धनकुटा ६ आत्मारामा निर्माण गरिएको ११ वटा भवन प्रदेश सरकारलाई हस्तान्तण गरिएको छ । साढे तीन करोड रुपैयाँ लागतमा निर्माण भएको ११ वटा भवन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले प्रदेश सरकारलाई हस्तान्तरण गर्नु भएको हो ।

ती भवनमा अब जिल्लास्थित साना तथा लघु उद्योग सञ्चालन गरिनेछ । औद्योगिक ग्राम स्थापनाका लागि विसं.२०३९ सालमा सो क्षेत्रमा ६२ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । तर, वर्षौसम्म बेवारिसे बनेको सो स्थानमा घरेलु तथा साना उद्योग विकास समितिको पहलमा भवन निर्माण गरिएको समितिका निर्देशक दिपक पौडेलले बताउनुभयो ।

आर्थिक वर्ष २०७४/०७५ मा विनियोजित साढे ३ करोड रुपैयाँको लागतमा ११ वटा बी प्रकारका ब्लक निर्माण सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो । यस वर्ष पुनः साढे करोड रुपैयाँ थप गरिएपछि अन्य पूर्वाधारको काम भइरहेको छ । 

भवन हस्तान्तरण कार्यक्रममा मन्त्री यादवले जनप्रतिनिधिले जनताको सेवक ठान्नु पर्नेमा शासक ठानिए जनताले नै ठेगान लगाउने बताउनुभयो । ‘जनप्रतिनिधिले शासक भन्दा जनताको सेवकको रुपमा बुझ्नु पर्छ, उहाँले भन्नुभयो, ‘चुनाव अघि सबैलाई ज्यू ज्यू गर्ने चुनावपछि नमस्कारको भोको हुने काम बन्छ गरौं ।’

उहाँले स्थानीय तहमा भ्रष्टचार मौलाएकोले यसको न्यूनीकरण गर्न जरुरी रहेको बताउनुभयो । औद्योगिक ग्रामका भवनको बाँकी कामको लागि थप बजेट विनियोजन गरिने मन्त्री यादवले बताउनुभयो । मुलुकभरका सात प्रदेशमा १ सय ४० वटा औद्योगिक ग्राम निर्माण गर्ने योजना रहेको रहेपछि हालसम्म २१ वटा मात्र प्रस्ताव आएको उहाँले जानकारी दिनुभयो । 

उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाले पनि औद्योगिक ग्राम निर्माण तथा सञ्चालनका लागि सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश एकका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुशियत, प्रदेश सांसद इन्द्रमणी पराजुली, निरन राई, जिल्ला समन्वय समितिका संयोजक टंकबहादुर चुवान, उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, कांग्रेस कोषाध्यक्ष दिनेश राई लगायतले धारणा राखेका थिए । 


प्रतिक्रिया