१६ करोड लगानी निर्माण भएको कृषि बजार अझै सञ्चालन भएन

जेष्ठ २०, २०७६ | मोरङ

मोरङको कटहरीमा निर्माण गरिएको एकीकृत फलफूल तथा तरकारी थोक बजार उद्घाटन भएको ३ महिना भइसक्दा पनि सञ्चालन हुन सकेको छैन । विश्व बैंकको १६ करोड रुपैयाँ सहयोगमा कटहरी गाउँपालिकामा निर्माण गरिएको एकीकृत फलफूल तथा तरकारी थोक बजार बजार सञ्चालन कार्यविधि अभावनमा अझै सञ्चालन हुन नसकेको हो ।

निर्माण सकिएर प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन समेत गरिसकेको बजार अझैसम्म सञ्चालनमा आउन नसकेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले निर्माण गरेको सो बजार गत चैत ३ गते उद्घाटन गरिएको थियो ।

प्रदेश १ सरकारले नीति बनाएर कृषि बजार सञ्चालनमा ल्याउने भनिएको थियो । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले गाउँपालिका र प्रदेश सरकारबीच सहमतिमा कृषि बजार सञ्चालन हुने बताउनुभयो ।

तर यसबारे प्रदेश सरकारले पहल नगरेको उहाँको भनाई छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बजार सञ्चालनको कार्यविधि निर्माणको काम अन्तिम चरणमा रहेको उल्लेख गर्दै कार्यविधि बनिसकेपछि बजार सञ्चालनमा आउने जनाएको छ ।


प्रतिक्रिया