नेपालको अर्थतन्त्र ७ दशमलव १ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २३, २०७६ | काठमाडौं

-विश्व बैंकले चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र ७ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।  प्रत्येक ६ महिनामा बैंकले सार्वजनिक गर्दै आएको प्रतिवेदनमा कृषि र सेवा क्षेको उल्लेख्य योगदान पश्चात नेपालको आर्थिक वृद्धिदर तीव्र गतिमा अघि बढेको उल्लेख छ । कृषि क्षेत्रमा ५ प्रतिशतको आर्थिक विस्तार हुने बैंकले उल्लेख गरेको छ । यो ३० वर्षको औसत ३ दशमलव १ प्रतिशत भन्दा उच्च भएको बताएको छ । मनसुनको सक्रियता, बजार व्यवस्थापन, बीउ तथा मल तथा सिंचाईको पर्याप्तता लगायतले कृषि क्षेत्रमा सुधारको अवस्था रहेको बैंकले जनाएको छ ।

 

सेवा क्षेत्रमा मात्रै ७ दशमलव ५ प्रतिशतले विस्तार हुने भन्दै विश्व बैंकले खुद्रा ब्यापार, होटल र रेस्टुरेन्ट लगायतको क्षेत्रमा पनि प्रगति भएको उल्लेख गरेको छ । पर्यटन आगमन बढेको र त्यसले पनि सेवा क्षेत्रको विस्तारमा योगदान दिएको विश्व बैंकले जनाएको छ । औद्योगिक क्षेत्रको वृद्धि ८ दशमलव १ प्रतिशतले विस्तार हुने प्रतिवेदनमा उल्लेख छ ।

 पर्यटक आगमनमा वृद्धि, निजी लगानीमा भएको विस्तार तथा सहज विद्युत आपूर्ति जस्ता कारणले अर्थतन्त्रको गति सकारात्मक रुपमा अघि बढेको बैंकले जनाएको छ । यद्यपी कमजोर निर्यात, फराकिलो व्यापार घाटा लगायतलाई बैंकले जोखिमका रुपमा विश्लेषण गरेको छ ।  यस्तै चालु आर्थिक वर्षको मूल्य वृद्धिदर ४ दशमलव १  प्रतिशत रहने अनुमान गरिएको छ ।

 चालु आर्थिक वर्षमा औद्योगिक आयातको अवस्थामा उल्लेख्य वृद्धि भई अर्थतन्त्र लाभान्वित हुने जनाएको विश्व बैंकले सरकारी खर्च भने निराशाजनक हुनसक्ने उल्लेख गरेको छ ।  विश्व र्बैककी वरिष्ठ अर्थशास्त्री केन इजमेनारीले सेवामा  गुणस्तरीयता कायम गर्दै असमान पहुँच अन्त्य गर्नुपर्ने तथा शिक्षा स्वास्थ्य जस्ता विषयहरुमा समेत सुधार आवश्यक रहेको बताउनुभयो ।  

 


प्रतिक्रिया