प्रदेश १ को व्यापार घाटा १ खर्ब १५ अर्ब

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २८, २०७६ | विराटनगर

- यसवर्षको आठ महिनामा प्रदेश १ वाट अघिल्लो वर्षको सोही अवधीको तुलनामा झण्डै १८ प्रतिशतले निकासी बढेपनि व्यापार घाटा न्यून हुन सकेको छैन । आठ महिनामा यो प्रदेशको व्यापार घाटा १ खर्ब १५ अर्ब ८४ करोड छ । यो अघिल्लो वर्षको भन्दा झण्डै ५ अर्बले बढी हो ।

यो प्रदेशवाट विगतमा उल्लेख्य मात्रामा निकासी हुँदै आएको छाला, मासुजन्य प्रदार्थ, अदुवा, हेण्डीक्राफ्ट, अलैची, जडिबुट्टि, मिक्स भेजिटेवल र उखुको खुँदोको निकासी यसपाली हवात्तै घटेको छ । 

चालु वर्षको आठ महिनामा यो प्रदेशमा १ खर्ब ३८ अर्ब ८५ करोड ४८ लाख मूल्य वरावरका सामान आयात हुँदा २३ अर्ब ७७ करोड ७० लाख मूल्य वरावरका सामान भारत तथा तेस्रो मुलुक निकसी भएको निकासी तथा व्यापार प्रबद्धन केन्द्रको तथ्याङक छ ।

यो निकासी अघिल्लो वर्षको भन्दा ३ अर्ब ५९ करोड ४५ लाखले बढी हो । गतवर्षको आठ महिनामा २० अर्ब १७ करोड ६१ लाखको निकासी भएको थियो ।

यो प्रदेशमा आयात तर्फ भारतले साँढे ६८ प्रतिशत र अन्य मुलुकले साँढे ३१ प्रतिशत बजार लिएको पाइएको छ । चालुवर्षको आठ महिनामा भारतवाट ९५ अर्ब ७ करोड ६९ लाख र अन्य मुलुकवाट ४३ अर्ब ७७ करोड ७८ लाख मूल्य वरावरका सामान आयात भएको छ ।

त्यसैगरी यहाँवाट निकासी भएका सामान मध्ये ९० दशमलव २७ प्रतिशत भारत र बाँकी अन्य मुलुक निकासी भएको तथ्याङक छ । प्रबद्धन केन्द्रको तथ्याङक अनुसार आठ महिनामा यो प्रदेशवाट २१ अर्ब ४५ करोड ८३ लाख मूल्य वरावरका सामान भारत निकासी हुँदा अन्य मुलुक तर्फ २ अर्ब ३१ करोड २३ लाख मूल्यका सामान निकासी भएको छ ।

निकसी प्रबद्धन केन्द्र प्रमुख कृष्ण रेग्मीका अनुसार चिनी र सिमेन्टको क्लिंकर आयातमा गिरावट आएपनि अन्य सामानको आयातमा कमी नहुँदा व्यापार घाटा बढ्दै गएको हो । उनका अनुसार यो प्रदेशवाट विशेष गरी कृषि उत्पादन निकासी हुँदै आएपनि विगतमा उल्ललेख्य मात्रामा निकासी हुँदै आएका कृषि उपजको निकासी घटेकाले पनि व्याार घाटा बढाउन सघाउ पुगेको हो ।

विगतमा छाला, मासुजन्य प्रदार्थ, अदुवा, हेण्डीक्राफ्ट, अलैची, जडिबुट्टि र मिक्स भेजिटेवलको निकासी उल्लेख्य हुन्थ्यो । रेग्मीले भने यसपाली ति वस्तुको निकासी हवात्तै घटेको छ । यहाँवाट निकासी हुने मासु र छाला चिन र इटली पुग्थ्यो । दुवै देशले मासु र छाला आयातमा रोक लगाएपछि निकासी घटेको रेग्मीको बुझाई छ ।

तरकारीमा बढ्दो विषादी प्रयोगका कारण भारतले आयातमा रोक लगाएका कारण निकासी घटेको हो । त्यसैगरी भारतमा पनि अलैचीको उत्पादन बढनु र नेपाली उत्पादनको मूल्यमा गिरावट ल्याउन आयात नगर्नुले अलैचीको निकासी घटेको रेग्मीको बुझाई छ । अलैचीको निकासी ४४ प्रतिशतले, मासु ९४ प्रतिशतले, मिक्स भेजिटेवल ३२ प्रतिशतले, हेण्डीक्रफ्ट ७१ प्रतिशतले, उखुको खुँदो ८९ प्रीतशत र जडिबुट्टिको निकासी ४५ प्रतिशतले घटेको तथ्याङक छ ।  

यसपाली छुर्पी, मुसुरो दाल, वन्दाकोभी, तेजपात, रुद्राक्षको दाना, अम्लीसोको कुच्चो, जुटका तयारी वस्तु, आलस र ब्राण्डको निकासी विगतको तुलनामा बढेको छ । छुर्पी ९ सय ६४ प्रतिशत, तेजपात १ सय ६ प्रतिशत, वन्दा  १ सय ३१ प्रतिशत, रुद्राक्षदाना १ सय ६४ प्रतिशत, पास्ता ५४ प्रतिशत, जुटका तयारी वस्तु २४ प्रीतशत र अम्लीसोको कुचोको निकासी ५ सय ५६ प्रतिशतले बढेको प्रबद्धन केन्द्रको तथ्याङ्क छ ।   

 


प्रतिक्रिया