आलुमा प्रतिबन्धित बीएचसी नामक विषादी भेटियो 

श्रावण २४, २०७६ | सुनसरी

आलुमा प्रतिबन्धित विषादी प्रयोग भएको भेटिएको छ । सुनसरीको धरानस्थित भानु सब्जी बजारमा बिक्रीका लागि राखिएको आलुको परीक्षणका क्रममा सरकारले १८ वर्ष अघि नै प्रतिबन्ध लगाएको बीएचसी बेन्जेन हेक्साक्लोराइड नामक विषादी भेटिएको हो ।

परीक्षणका क्रममा आलुमा मानव स्वास्थ्यका लागि अति घातक मानिएको बीएचसीको अवशेष फेला परेको फोरम फर हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट एफएचआरडीले जनाएको छ । किटनाशक विषादीको रुपमा एकपटक प्रयोग गरेपछि पनि लामो समयमा सम्म माटोमा रही रहने भएकाले सरकारले २०५८ मा बीएचसी नामक विषादी प्रयोगमा प्रतिबन्ध लगाएको थियो । 

बजारमा भएका अन्य फलफूल तथा तरकारीमा गरिएको परीक्षणमा सो विषादी नभेटिएको एफएचआरडीले जनाएको छ । धरानस्थित भानु सब्जी बजारमा बिक्रीका लागि राखिएका तरकारी तथा फलफूलमा विषादी भएन/भएको बारे परीक्षणका लागि धरान उपमहानगरपालिकाको एफएचआरडीलाई जिम्ममा दिएको थियो । 

संस्थाका अध्यक्ष समेत रहेका केन्द्रीय प्रविधि क्याम्पस हाक्तिसारका माइत्रोबायोलोजी विभागका प्रमुख धिरेन लिम्बुले भन्नुभयो, ‘विषादी परीक्षण गर्ने क्रममा भानुचोकस्थित सब्जी बजारमा राखिएको आलुमा बीएचसीको अवशेष फेला परेको हो । तर उक्त किटनाशक औषधी सरकारले पहिले नै प्रतिबन्ध गरेकाले शायद दुई दशक अघि नै प्रयोगमा ल्याइएको माटोमा फलेको आलुमा त्यसको अवशेष देखिएको हुन सक्छ ।’

कडाखाले विषादी २० वर्षदेखि ५० वर्षसम्म माटोमा रहिरहने भएकाले सो जमिनमा अरु अन्नबाली, फलफूल तथा तरकारी उत्पादन गर्दा त्यसको अवशेष देखिने उहाँले बताउनुभयो । आलुमा देखिएको बीएसीको मात्रा भने नगण्य जस्तै रहेकाले त्यसले वातावरण र मानव शरीरमा खासै हानी भने नपुर्‍याउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै कृषकले फलफूल तरकारीमा बीएचसी प्रयोग हालसालै मात्र गरेको भए त्यसको मात्रा धेरै देखिन सकिन्थ्यो ।’

अरु विषादी प्रयोग गरिएको भेटिएन
धरान आसपास र कोशी कोरिडोरमा गत पुसदेखि चैतसम्म उत्पादित फलफूल तथा तरकारीमा विषादीको मात्रा नपाइएको लिम्बुले बताउनुभयो । उपभोक्ताहरुले दैनिक उपभोग गर्ने फलफूल तरकारीमा विषादी अत्यधिक प्रयोग भएको गुनासो आएपछि करीब सात महिना लगाएर स्थलगत रुपमा कृषकको बारीमा र तरकारी बजारमा पुगेर नमूना संकलन गरी परीक्षण गर्दा विषादीको मात्रा नभेटिएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘परीक्षण गर्दा कोशी करिडोर र धरान आसपासका कृषहरुले विषादी खासै प्रयोग गरेको देखिएन । तर, चिनिमल र दाना मल भने प्रयोग गरेको पाइयो । युरिया विषादी होइन ।’ धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर लगायत पहाडी जिल्लासँगै धरान आसपासका क्षेत्रहरु पानबारी, ठिंगाबारी, विष्णुपादुका लगायत स्थानमा उत्पादित फलफूल तथा तरकारीमा विषादी नपाइएकाले ढुक्कले खान सकिने पनि उहाँले बताउनुभयो । 

परीक्षण टोलीले आलु, टमाटर, काँक्रा, रायो साग, धनिँया, बोडी, तोरी सागको नमूना संकलन गरी परीक्षण गरेको थियो । सरकारले प्रतिबन्ध नलगाएको सामान्य विषादी कृषकहरुले प्रयोग गरेपनि उत्पादित तरकारीमा परीक्षणका क्रममा विषादी फेला नपरेको केन्द्रीय प्रविधि क्याम्पस हाक्तिसारका माइत्रोबायोलोजी विभागका प्रमुख लिम्बुले बताउनुभयो । 

तरकारी तथा फलफूल परीक्षण जीसीएमएस (ग्यास क्रोमेटोग्राफि मास स्टोक्ट्रोमेटी) प्रविधिबाट गरिएको हो । यो विश्वकै उत्कृष्ट, अत्यधुनिक भएको र विश्वस्तरीय प्रविधि भएकोले परीक्षणको रिपोर्टबारे शंका नहुने प्रमुख लिम्बुले बताउनुभयो । धरानमा बाहिरी जिल्लाबाट आउने तरकारीमा सरकारले तोकेको मापदण्डका विषादीहरू मात्रै प्रयोग भएको पाइएको उहाँले बताउनुभयो । स्थलगत अध्ययनमा फगिङ साइड र हर्वी साइड बढी मात्रामा प्रयोग भएको पाइएपनि ती सबै, विषादी ऐन २०४८ ले तोकेका विषादीहरू नै रहेको उहाँले बताउनुभयो । 

हिँउदे उत्पादनको विषादी परीक्षण पछि धरान उपमहानगरपालिकाकी कार्यबाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले वर्षायाममा उत्पादित अन्य तरकारी तथा फलफूल भारतीय बजारबाट ल्याइने तरकारी, दूध र मासुको पनि परीक्षण गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बेमौसमी उत्पादनमा विषादी बढी प्रयोग हुन्छ भन्ने चर्चा हुने गरेको थियो । तर विषादी नदेखिएकाले धरानमा हामीले दैनिक उपभोग गर्ने सागसब्जी सुरक्षित रहेछ । अब धरानमा आउने दूधको पनि परीक्षण गर्न सम्झौता भइसकेको छ । संगसंगै धरानका उपभोक्ताले खाने मासुको पनि परीक्षण गर्नेछौं ।’


प्रतिक्रिया