तत्काल कच्चा दूधको मूल्य बढाउन माग

श्रावण २४, २०७६ | काठमाडौं

कच्चा दूधको लागत मूल्य नपाएको भन्दै दूध उत्पादन किसानहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । आगामी भदौ १ गतेबाट लागू हुने गरी उत्पादित कच्चा दूधको मूल्य वृद्धि नगरे आफूहरु बाध्य भएर आन्दोलनमा उत्रने केन्द्रीय दुग्ध सहकारी संघले चेतावनी दिएको हो ।

कच्चा दूधको मूल्य वृद्धि नभएमा सम्पूर्ण दुग्ध उत्पादक किसानहरु देशव्यापी रुपमा आन्दोलनमा उत्रन बाध्य हुने संघले जनाएको छ । कृषि तथा पशुपालन क्षेत्रमा लाग्नुपर्ने समयमा किसानलाई आन्दोलनमा जान बाध्य नपार्न भदौ १ गतेबाट लागू हुनेगरी दूधको मूल्य वृद्धि चेतावनी दिएको हो । 

दुग्ध उत्पादक किसानहरुलाई यो पेशामा आकर्षित गराई देशलाई दूधमा आत्मनिर्भर बनाउन उत्पादित दूधको मूल्य वृद्धि गर्न संघले सरकार र मातहतका निकायको ध्यानाकर्षण गराएको छ । यही श्रावण मसान्त भित्र कच्चा दूधको मूल्य वृद्धि नभए भदौ ४ देखि ६ गतेसम्म दुग्ध विकास संस्थानमा घेराऊ गर्ने संघले जनाएको छ ।

दैनिक उपभोग्य वस्तु लगायत पशुआहारा, दाना, चोकर र कृषि श्रमिकको निरन्तर मूल्यवृद्धि भएपनि विगत लामो समयदेखि कच्चा दूधको मूल्यमा वृद्धि नभएको भन्दै संघले तत्काल मूल्य वृद्धि गर्न माग गरेका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्री र सरोकारवाला निकायहरुको पटक पटक ध्यानाकर्षण गराए पनि आफूहरुको माग सुनुवाई नभएको उनीहरुको गुनासो छ । 

संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले आज विज्ञप्ति जारी गर्दै आफूहरुको माग सम्बोधन नभएर थप संघर्षमा उत्रने बताउनुभयो । माग सम्बोधनमा सरकारले बेवास्ता गरे भदौ ६ गते दोस्रो चरणको आन्दोलन घोषणा गर्ने उहाँले बताउनुभयो । 


प्रतिक्रिया